धनगढी — धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले सुखद सुरुआत गरेका छन् । आइतबार ‘बी’ समूहका खेल सुरु भएकामा दुवैले आफ्नो पहिलो खेलमा जित निकालेको हो । कोशीले बागमती प्रदेशलाई १० रनले हरायो ।
हुस्सुका कारण खेल १३ ओभरमा छोट्याइएको खेलमा ६४ रनको लक्ष्य पाएको बागमती १२.१ ओभरमा ५३ रनमै समेटियो । बागमतीबाट सविका यादवले २० र विपिशा शाहीले १२ रन जोडे । कोशीका रुबिना क्षेत्री, ज्योति दनुवार र संगीता राईले २–२ विकेट लिइन् ।
निशा शाहले १ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको कोशीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनाएको थियो । विमला मलाहले १९ र कप्तान रुबिना क्षेत्रीले १५ रन जोडेका थिए । बागमतीका लागि मनीषा उपाध्यायले ह्याट्रिकसहित ४ विकेट लिइन् । संस्कृति फुयाल, विपाशा शाही र पूजा साउदले १–१ विकेट लिए ।
आइतबारै फाप्ला मैदानमा आर्मीले मधेश प्रदेशलाई १० विकेटले हराएको छ । मधेशले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । आर्मीको जितमा सम्झना खड्काले २२ र अञ्जली विश्वकर्माले ४ रन बनाएका थिए । टस जितेर ब्याटिङ गरेको मधेशले १५.२ ओभरमा सबै विकेट गुमाएर २५ रनमात्र बनाएको थियो ।
मधेशबाट भूमि सिंहले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका आस्मा पुलामी मगरले ह्याट्रिक विकेट लिइन् । मनीषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता शाही र ईश्वरी विष्टले २–१ विकेट लिए । घरेलु महिला क्रिकेटमा आर्मीको यो डेब्यु खेल हो । समूह ‘ए’ बाट भने सुदूरपश्चिम प्रदेश र एपीएफ सुपर फोरमा पुगिसकेका छन् ।
