पीएम कप क्रिकेट : एपीएफ र सुदूरपश्चिम 'सुपर फोर’ मा

माघ ६, २०८१

अर्जुन शाह

PM Cup Cricket: APF and Sudurpaschim in 'Super Four'

धनगढी — नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेका छन् । 

एपीएफले फाप्ला क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिमलाई ५९ रनले हरायो । एपीएफ अपराजित रहँदै ७ अंकसहित सुपर चारमा पुगेको हो । पहिलो हार भोगे पनि सुदूरपश्चिम ६ अंकसहित अन्तिम चारमा पुगेको हो । समूह ‘ए’ मा रहेका लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश बाहिरिएका छन् ।

गण्डकी र कर्णालीले एउटै खेल जित्न सकेनन् भने लुम्बिनी दुई खेलमा विजयी भएको थियो । तीनवटै टोलीको एक–एक खेल भने वर्षाका कारण रद्द भएको थियो । समूह चरणमा लुम्बिनीले ५ तथा कर्णाली र गण्डकीले १–१ अंक जोडे ।

टस हारेको एपीएफले हुस्सुका कारण १८ ओभरमा छोट्याइएको खेलमा २ विकेट गुमाई १ सय २६ रन बनायो । कप्तान इन्दु बर्माले ५८ रन बनाइन् । उत्कृष्ट फर्ममा रहेकी उनले ४५ बलमा १० चौका प्रहार गरिन् । राजमती ऐरी २ रनमात्र बनाइन् । ममता चौधरी ४९ बलमा १ चौकासहित ३६ र कविता जोशी १३ बनाई अविजित रहे । सुदूरपश्चिमकी जानकी थापाले १ विकेट लिइन् ।

जवाफमा सुदूरपश्चिमले ६ विकेट गुमाई ६७ रनमात्र बनाउन सक्यो । कविता कुँवरले २९ रन बनाइन् । उनले ३४ बलमा ४ चौका प्रहार गरिन् । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । एपीएफकी इन्दु र कविता जोशीले २–२ तथा सवनम राईले १ विकेट लिए । 

समूह ‘ए’ को अन्तिम खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हरायो । टस जितेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाई १ सय २६ रन बनायो । रञ्जु श्रेष्ठले अविजित ५१ रन बनाइन् । उनले ५९ बलमा २ चौका प्रहार गरिन् । कर्णालीले ३९ रन अतिरिक्त दिएको थियो । कर्णालीका अञ्जु गुरुङले ३ र रमा बुढाथोकीले २ विकेट लिए । 

जबाफमा कर्णाली ५५ रनमा समेटियो । रमाले २० रन बनाउनुबाहेक अन्यले गतिलो स्कोर बनाएनन् । लुम्बिनीका सरस्वती पुनले ४ विकेट लिइन् । मनीषा राना, आस्ना चौधरी र मधु डिसीले १–१ विकेट लिए । आइतबारदेखि समूह ‘बी’ को खेल हुनेछ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully