आईसीसी यू–१९ महिला ट्वाटी–२० विश्वकप मलेसियामा सुरु
काठमाडौँ — आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा ‘डेब्यु’ गरेको नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । मलेसियामा शनिबार सुरु प्रतियोगितामा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो ।
बांगीस्थित यूएसडी–यूकेएम क्रिकेट ओभलमा बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङ गर्न बोलाएको थियो । तर ५ ब्याटर रनआउट भएपछि नेपाली टोली १८.२ ओभरमा ५२ रनमै अलआउट भयो । ओपनर सावित्री धामीलाई निशिता अख्तरले १ रनमा कट एन्ड बोल्ड गरेपछि नेपालको विकेट झर्नेक्रम सुरु भएको थियो ।
रनआउट हुने नेपाली पहिलो खेलाडी कप्तान पूजा महतो थिइन् । उनी २ रन बनाई आउट भइन् । उपकप्तान सोनी पाख्रिनलाई अनिशा अख्तरले शून्य र किरण कुँवरलाई जन्नातुल मौआले १ रनमा बोल्ड गरिन् । प्लेयर अफ द म्याच मौआले सना प्रविनलाई १९ रनमा बोल्ड गरेकी हुन् । सनाले २६ बल खेलिन् । मौआले ४ ओभरमा ११ रनमात्र खर्चेर २ विकेट लिइन् ।
सिमाना केसीले १२ औं ओभरमा प्रहार गरेको चौका नेपाली इनिङ्सको पहिलो थियो । उनले १६ बलमा १० रन बनाइन् । सिमानासहित अलिशा यादव (४), अनु कडायत (०) र रचना चौधरी (२) रनआउट भए । तृष्णा विश्वकर्मा ३ रनमा आउट भइन् । रिया शर्मा ५ रनमा अविजित रहिन् । रियाले नेपाली इनिङ्सको दोस्रो चौका प्रहार गरिन् । बंगलादेशबाट निशिता, फाहोमिदा चोया र अनिशा अख्तरले १–१ विकेट लिए ।
नेपालले सुरुआतमै ३ विकेट लिए पनि बंगलादेशले १३.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । रचना चौधरीले सुमैया अख्तरलाई पहिलो ओभरकै तेस्रो बलमा रियाबाट ४ रनमा क्याच गराइन् । रियाले अर्को ओभरमा चोयालाई १ रनमा बोल्ड गरिन् । जुवाइरिया फिर्दोस २ रनमा आउट भइन् । सादिया इस्लाम र कप्तान सुमैया अक्तरले चौथो विकेटमा २१ रनको साझेदारी गरी बंगलादेशलाई सुरक्षित बनाए ।
सादिया २४ बलमा १ चौकासहित १६ रन बनाएर पूजाको बलमा आउट भए । सुमैयाले २४ बलमा १२ रन बनाइन् । उनलाई सिमानाले आउट गरिन् । आफिआ असिमा ९ र मौआ ५ रनमा अविजित रहे । अब नेपालले स्कटल्यान्डसँग सोमबार र अस्ट्रेलियासँग बुधबार समूह चरणको खेल खेल्नेछ ।
नेपाल यू–१९ विश्वकपको अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ र अमेरिकासँग ५ विकेटले पराजित भएको थियो । बंगलादेशले अभ्यासमा श्रीलंकालाई ४ विकेट र इंग्ल्यान्डलाई सुपर ओभरमा पराजित गरेको थियो ।
