पहिलो पटक ह्विलचेयर टेनिस स्पर्धा

माघ ६, २०८१

कान्तिपुर संवाददाता

First ever wheelchair tennis tournament

काठमाडौँ — नेपालमा पहिलोपल्ट ह्विलचेयर टेनिस प्रतियागिता सकिएको छ । नेपाल ह्विलचेयर टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा रामबहादुर तामाङले सागर पाण्डेलाई हराएर पहिलो भए । रामले १५ हजार, सागरले १० हजारसहित ट्रफी पाए । तेस्रो भएका खुम पाण्डेले ५ हजार पुरस्कार हात पारे ।

महिलातर्फ प्रथम अनुकला राई विजेता भइन् । उनले १५ हजार पुरस्कार पाइन् । दोस्रो भएकी गंगा छन्त्यालले १० हजार र तेस्रो भएकी झरना रानाले ५ हजार पाए ।

विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे ।

मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले आगामी दिनमा यस संस्थालाई सहयोग गरी पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले सहयोग गर्ने बताए । नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस कोर्ट, शौचालयलगायतका पूर्वाधार अपांगमैत्री बनाइने बताइन् । ह्विलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले अब राष्ट्रिय पारा खेलकुद सुर्खेतमै हुने जानकारी गराए ।

मन्त्री महर्जनले पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धनसहित भरतसिंह महता, भीम कुमाल र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई सम्मानपत्र प्रदान गरे ।  

नेपाल ह्विलचेयर टेनिस संघले प्रतियोगिता गर्नुअगाडि मध्यपुर थिमि नगरपालिकाको सहयोगमा एक महिने प्रशिक्षण सम्पन्न गरेको अध्यक्ष थापाले बताए ।

कान्तिपुर

Link copied successfully