काठमाडौँ — विल्सन एकेडेमी, कश्यप र रिब्स शनिबार चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन् ।
आयोजक केएमसीको कोर्टमा सिनियर ब्वाइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ साँघुरो अन्तरले हरायो । विल्सनका रेहान डंगोलले १९ स्कोर गरे ।
जुनियर ब्वाइज फाइनलमा एलेन लामाको १३ स्कोरमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ ले हरायो । कश्यपका एलेन लामाले १३ स्कोर गरे ।
सिनियर गर्ल्सको फाइनलमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसीसीएसलाई ३५–२६ ले पाखा लगायो । खेल दुईपटक अतिरिक्त समयमा गएको थियो । रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ता रेहान, एलेन र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गर्ल्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई, प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले पुरस्कृत गरे ।
