जलेश्वरमा प्रदेशस्तरीय फुटबल

माघ ५, २०८१

सुनिता बराल

State level football in Jaleshwar

महोत्तरी — महोत्तरीको जलेश्वरमा मधेश प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । जलेश्वर रंगाशालामा शनिबारबाट प्रतियोगिता सुरु भएको आयोजक संस्था मधेश प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार गुप्ताले बताए ।

आयोजकका अनुसार मधेशका ८ वटै जिल्लाबाट जिल्लास्तरीय फुटबल लिग जितेका खेलाडीले प्रदेश लिगमा भाग लिएका छन् । 

मधेस प्रदेश फुटबल संघको आयोजना तथा जिल्ला फुटबल संघ महोत्तरीको सहआयोजना लिग सुरु भएको हो । खेल सम्पन्न गर्न जलेश्वर नगरपालिका र अखिल नेपाल फुटबल संघले सहयोग गरेको छ । लिगमा विजेता खेलाडीले पुरस्कारसँगै राष्ट्रिय फुटबल लिगमा खेल्ने अवसर पाउने आयोजक संस्थाका अध्यक्ष नेपाल कार्कीले बताए ।

शनिबार भएको उद्घाटन खेलमा कछडिया युवा समाज क्लब रौतहट र युनिक फुटबल क्लब सर्लाहीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा दुवै टोलीले एक–एक गोल गर्दै खेल बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफको ५ मिनेटमा सर्लाहीले १ गोल गरेको थियो । दोस्रो हाफको ४२ मिनेटमा रौतहटले गोल गरेपछि बराबरीमा खेल सकिएको छ । 

State level football in Jaleshwar

मधेश प्रदेशस्तरीय मेयर कप प्रतियोगिता उद्घाटन जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले गरेका छन् । मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका खेलाडीको ८ वटा समूह प्रतियोगितामा सहभागी रहेका छन् । 

शनिबार सुरु भएको खेल माघ १३ गतेसम्म चल्ने आयोजक मधेश प्रदेश फुटबल संघले जनाएको छ ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully