एपीएफ क्लब क्वालिफायर–१ मा छनोट

माघ ५, २०८१

कान्तिपुर संवाददाता

Selection in APF Club Qualifier-1

काठमाडौँ — नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम ।

रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित एपीएफले वालिङमाथि ठूलो अन्तरको जित पाएको हो । रश्मिले ४ गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ १०–० ले सजिलै विजयी रह्यो । 

एपीएफको प्रतियोगितामा दोस्रो चरणको शीर्ष दुई स्थानमा रहने निश्चित भएको छ । यो जितपछि एपीएफको १८ अंक भएको छ । टोली शीर्षमा छ । आर्मी १३ अंकसहित दोस्रो र पुलिस १० अंकसहित तेस्रो स्थानमा छ । 

अब यिनै दुई टिमबीच क्वालिफायर–१ खेल्ने दोस्रो टिमका लागि प्रतिस्पर्धा चल्नेछ । दोस्रो चरणमा प्रत्येक टिमले दुई खेलमात्र खेल्न बाँकी रहेको स्थितिमा एपीएफ शीर्ष दुईमा रहने निश्चित भएको हो । 

अन्तिम दुई चरणका खेलमा जस्तै नतिजा आएपछि पुलिसले अब एपीएफलाई उछिन्न सक्ने छैन । ‘दुई खेलअगाडि नै हामी क्वालिफायर–१ का लागि छनोट भएका छौं, त्यसैले खुसी छौं । यो सबै टिमकै मिहिनेतले सम्भव भएको हो,’ प्रशिक्षक जीवेश पाण्डेले भने । 

उनले थपे, ‘यहाँसम्मको यात्रामा सबै खेलाडीले राम्रो खेलका छन् । हाम्रोसामु चुनौती अझै बाँकी छ । हाम्रो अबको लक्ष्य भनेको नयाँ ढाँचाको लिग जित्ने नै हो ।’

रश्मिले ७, ८, ५४ र ५९ औं मिनेटमा गोल गरिन् । सरु लिम्बू र सविता रानामगरले समान २ गोल गरिन् । सरुले २३ र २७ औं मिनेटमा गोल गरिन् भने सविताबाट ८३ र ८५ औं मिनेटमा गोल निस्केको हो । 

प्रीति राईले २० र कप्तान रेनुका नगरकोटेले २४ औं मिनेटमा गोल गरेका थिए । दोस्रो चरणमा एपीएफ आफूले खेलेका सबै ६ खेलमा विजयी छ । पहिलो चरणको समेत गरेर एपीएफको यो लगातार १४ औं जित हो । 

वालिङ अंकविहीन भएर पुछारमा छ । टोलीले अहिलेसम्म दोस्रो चरणमा कुनै पनि जित निकाल्न सकेको छैन । बागमती र वालिङमध्ये एक टिमले इलिमिनेटर खेल्नेछ ।

कान्तिपुर

Link copied successfully