काठमाडौँ — सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करण आगामी फागुन अन्तिम साता हुने भएको छ ।
सायम कलेजको आयोजनामा हुने प्रतियोगिता फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले लिगमा ४ टिम सहभागी रहने छन् । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् ।
खेलस्थल मूलपानी क्रिकेट मैदानलाई प्रस्ताव गरिएको समेत प्रिन्सिपल पाण्डेले बताए । उनका अनुसार एक टिम खरिद गर्न सम्बन्धितले अधिकतम १ लाख खर्च गर्नु पर्ने छ । खेलाडीलाई २ समूहमा वर्गीकरण गरिने छ । ग्रेड ‘ए’मा रहेका खेलाडीका लागि न्यूनतम ५ हजारदेखि अधिकतम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’का खेलाडीको मूल्य न्यूनतम ५ हजारदेखि अधिकतम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी किन्नु पर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी रहेका छन् । खेल १५–१५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहर्को सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।
प्रिन्सिपल पाण्डेले विद्यार्थीहरुलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरुलाई नै सुम्पिएको बताए । सायम च्यालेन्जर्सले सर्वाधिक २ पटक उपाधि जितेको छ ।
