भैरहवा — नेपाल सुपर लिगका कारण स्थगित रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनका खेल शनिबारदेखि भैरहवामा सुरु भएका छन् ।
गत मंसिरमा रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताअन्तर्गत डिभिजन ‘बी’ का खेल भएका थिए । प्रतियोगिताको ‘ए’ डिभिजनको पहिलो खेलमा वेस्टर्न क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ३२ ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल बनायो । जसमा, भुवन पाण्डेले २८, निरकुमार गुप्ता र अभिषेश गौतमले २०–२०, इशान पाण्डेले १६ र देव खनालले १२ रनको योगदान दिए ।
बलिङमा लुम्बिनी खुकुरीका शाहब आलम, अजयकुमार चौहान र शंकर रानाले २–२ र शेहजाद आलमले १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी खुकुरीले २८ ओभर ३ बलमा सबै विकेट गुमाई ९४ रनमै सीमित रह्यो । शंकर रानाले सर्वाधिक २२ रन बनाए । निश्चल चौधरीले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा वेस्टर्नका सुझाव थापाले ७ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । इशान पाण्डेले २ तथा सन्देश थापा र अभिशेष गौतमले १–१ विकेट लिए ।
यस प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
