बागलुङ — दोस्रो स्मृति कप फुटबल प्रतियोगिता जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ । शनिबार बागलुङस्थित बाङ्गेचौर मैदानमा आयोजित फाइनलमा संकल्प पुनःस्थापना केन्द्रलाई टाइब्रेकरमा ५/३ गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो ।
साबिकको धौलागिरि क्षेत्रका १४ टिमले भाग लिएको प्रतियोगितामा प्रथम भएर पुलिसले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पायो । दोस्रो हुने संकल्प पुनःस्थापना केन्द्रले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो ।
निर्धारित समयमा एक–एक गोलको बराबरी खेलेका पुलिस र संकल्पको खेल ट्राइबेकरमा पुगेको थियो । दोस्रो हाफको पहिलो २ मिनेटमा संकल्पका मनोज गुरुङले गोल गरेर खेललाई अगाडि बढाएकामा १५ औं मिनेटमा पुलिसका सुमित श्रेष्ठले गोल फर्काएपछि खेल बराबरी भएको थियो । थपिएको समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
फाइनल यात्राका लागि शुक्रबार पुलिसले गुराँस गुठी युनाइटेडलाई २–१ र संकल्पले पर्पल हेजलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
बागलुङ एकता क्लबका ८ जना पूर्वसदस्यहरुको स्मृतिमा दुई वर्षदेखि खेल संचालनमा छ । प्रतियोगितामा पुलिसका विवेक गुरुङ सर्वोकृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलकर्तामा नारायणदल गणका धीरेन्द्र शाही र आदर्श युवा क्लबका जोफ कुमान घोषित भए ।
बेस्ट गोलकिपरमा पुलिसकै जीवनसिंह ठकुरी पुरस्कृत भएका छन् । डिफेन्डरमा संकल्पका विशाल नेपाली, मिड फिल्डरमा पुलिसका सन्दीप तामाङ तथा स्ट्राइकरमा संकल्पका मुकुन्द्र निउरे घोषित भएका थिए ।
