बिच भलिबलमा पुलिस च्याम्पियन

माघ ५, २०८१

अनिश तिवारी

Police Champion in Beach Volleyball

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भएको राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका खेलाडीले उचालेका छन् । सुनकोशी नदी किनार बगरमा शनिबार पुरुषतर्फ फाइनलमा पुलिसका चन्द्रबहादुर कुँवर र सफल बिकको जोडी च्याम्पियन भयो ।

एपीएफका बलराम चौधरी र रमेश बिकको जोडीमाथि २१–१८, १४–२१, ८–१५ सेटमा चन्द्रको जोडीले जित पाएको थियो । त्रिभुवन आर्मीर् क्लबका टीकाराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भयो । एपीएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाले सान्त्वना स्थान हासिल गरे ।

नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ पुलिसका कमला पुन र मनीषाकुमारी चौधरीको जोडीले उपाधि उचाल्यो । उनीहरूले आफ्नै विभागका कामना विष्ट र पुनम चन्दको जोडीलाई २१–१९, २१–१० सोझो सेटमा हराएको थियो । एपीएफका नेबिका चौधरी र निरुता ठगुन्नाको जोडी तेस्रो भयो । एपीएफकै जोडी रस्मिता दुरा र जस्ना महता सान्त्वनामा सीमित भए ।

Police Champion in Beach Volleyball

विजेतालाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण सापकोटा र उपमेयर सीता थापाले पुरकार वितरण गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । पुलिसका कमला पुन र सफल बिक उत्कृष्ट खेलाडी भए । दुवैले जनही ५ हजार पाए । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले विजेता र उपविजेताले सन् २०२५ मा हुने काभा बिच भलिबलमा भाग लिने जानकारी गराए । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्दसिंह थापाले राष्ट्रिय बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । पुरुषतर्फ आठौं र महिलातर्फ सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता हो ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully