काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण शुक्रबार सुरु भएको छ । उद्घाटन खेलमा काठमाडौं माभरिक्सले जित हासिल गर्यो ।
काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ को साँघुरो अंक अन्तरले पराजित गरेको हो । काठमाडौंले ५ अंक जोडेको छ । काठमाडौंले सुरुदेखि नै अग्रता बनायो ।
एक समय पोखरा पुनरागमन गर्दै ६–८ को स्थितिमा फर्किएको थियो । तर, कप्तान घनश्याम रोकामगरले सुपर ट्याकल गरेसँगै काठमाडौंले अग्रता दोब्बर बनायो । पहिलो हाफमै पोखरा दुईपटक अलआउट हुन पुग्यो । त्यसले काठमाडौं पहिलो हाफमा २५–१४ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफको मध्यतिर भने पोखराले पुनरागमन गरेको हो । अन्तिम ६ मिनेट बाँकीमा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो । सोही समय काठमाडौंका कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो । लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जना आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए ।
त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा बनायो । त्यसपछि दुवै टोलीले थप एक अंक जोड े। यद्यपि, रेइडर्स घनश्यामले आफ्नो अनुभव कोर्टमा भरपुर प्रयोग गर्दै अन्तिम दुई मिनेट बाँकीमा तीन खेलाडी रेडमा आउट गर्दै टोलीलाई जिताए । उनी नै प्लेयर अफ द म्याच भए ।
