जुम्ला — जुम्लाकी राममाया बुढाले एक सय किलोमिटर हङकङ अल्ट्रा म्याराथनको ५० किलोमिटर दौडमा उपाधि जितेकी छन् । हङकङ म्याराथनको अहिलेसम्मको रेकर्ड तोड्दै उनले म्याराथनको उपाधि जितेकी हुन् ।
जुम्लाको पातारासी गाउँपालिका-२ पेरेगाउँमा जन्मिएकी राममायाले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको खेलमा भाग लिएर प्रथम स्थान हासिल गरेकी हुन् । उनले एक सय किलोमिटर दुरी ५ घण्टा ३४ मिनेट ५ सेकेण्डमा पार गरिन् । राममायाले जापानकी युरी ओसिजोमीलाई २४ मिनेट ७ सेकेण्डले पछि पारेकी थिइन् । जापानकी ओसिजोमीले ५ घण्टा ५८ मिनेट १२ सेकेण्डमा पार गर्दै द्वितीय भइन् । चीनकी याङ यानले ६ घण्टा १३ मिनेट ३६ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरिन् ।
उक्त म्याराथनमा जुम्लाका राज्यलक्ष्मी रावलले सातौं स्थान हासिल गरिन् । हङकङ म्याराथनमा २ सय ९९ धावक धाविकाले भाग लिएका थिए ।
हङकङ म्याराथनमा राममायाको विजयले जुम्लामा खुसीयाली छाएको छ । कर्णाली खेलकुद क्लबबाट विश्वकिर्तीमानी धावक हरिबहादुर रोकायासँग प्रशिक्षण लिएकी उनको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायिक मानिएको छ । एसिया प्यासेफिक एडभेन्चर एथ्लेटिक्सका अनुसार राममायाले हङकङ म्याराथनमा आफ्नो अदितीय क्षमताको परिचय बनाएकी छिन् ।
कुनै पनि प्रतिस्पर्धीलाई उछिन्न नदिइएको उनको जीतसँगै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिएको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
'स्थानीयस्तरमा सीमित जस्तो देखिने खेलकुद प्रतिभाले अन्तर्राष्ट्रिय मञ्चमा पनि सफलता हात पार्न सक्छ भन्ने उदाहरण राममायाले प्रस्तुत गरिन्',अध्यक्ष शाहीले भने, ‘उनको यो जीत र उपलब्धिले युवा खेलाडीलाई प्रेरित गर्ने आशा गरिएको छ ।’
राममायले हङकङ म्याराथनको उपाधि चुमेपछि धावक हरीबहादुर रोकाया खुसी छन् । उनले राममायाको सफलता एउटा म्याराथन जित्नु मात्र नभइ नेपाली महिलाहरुको आत्मबल र क्षमताको प्रतिक बनेको प्रतिक्रिया दिए ।
राममाया चर्चित एथ्लेटिक्स धाविका सुनमाया बुढाकी बहिनी हुन् । गरिब घरमा जन्मिएकी राममाया र सुनमायाले अहिले एथ्लेटिक्स क्षेत्रमा राम्रो प्रगति गरेका छन् ।
