धनकुटा — धनकुटाको चौबिसे गाउँपालिकास्थित हंशमोरङमा भएको कोशी प्रदेशस्तरीय दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि विराटनगरको नेपाल प्रहरी रानी टिमले जितेको छ । चौबिसे ४ र ५ को संगमस्थल हंशमोरङमा सम्पन्न फाइनलमा प्रहरीले कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई २६–२४, २५–२२, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
आयोजक त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका आठ टिमको सहभागिता थियो ।
विजेताले १ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पायो । सर्वोत्कृष्ट खेलाडी प्रहरीका बालकुमार रायमाझी चुनिए । उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उत्कृष्ट स्पाइकर कोशीका रोशन श्रेष्ठ, उत्कृष्ट सेटर कोशीकै मनोज घिमिरे, उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री, उत्कृष्ट डिफेन्समा प्रहरीका युगल मगर पुरस्कृत भए । उनीहरूले जनही २ हजार रुपैयाँ पाए । विजेतालाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङलगायतले पुरसकृत गरे ।
गत वर्षदेखि सुरु प्रतियोगिता रानी विराटनगरले सशस्त्र प्रहरी बल पकली र कोशी प्रदेश ट्रेनिङ सेन्टरले बेलबारीलाई हराएर फाइनल पुगेका थिए । प्रतियोगितामा आयोजक त्रिवेणी खेलकुद विकास समिति, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, तमोर करिडोर स्पोर्टिङ र केराबारी मोरङको सहभागिता रहेको आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए ।
