काठमाडौँ — जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल विद्यार्थी संघले जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको प्रतियोगिता सोमबार सुरु हुनेछ । ९ दिनसम्म चल्ने स्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा नेपालबाट त्रिवि, केयू, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गर्ने र प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्राविधिक समिति संयोजक एवं राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ताले जानकारी गराए । कुल ३० लाख पुरस्कार राशिमा विजेताले १५ लाख र उपविजेताले १० लाख पाउने छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिने जनाइएको छ ।
‘विश्वका धेरै विश्वविद्यालयलाई हामीले निमन्त्रण दिएका थियौं, कतै परीक्षा परिरहेको, कतै हवाईभाडा महँगो भएका कारण सबै टिम आउन सकेनन्,’ नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भने, ‘आउँदो वर्षदेखि सहभागिता संख्या पक्कै बढ्ने विश्वास लिएका छौं ।’ झन्डै ३ करोड अनुमानित बजेट रहेको प्रतियोगितामा आउने विदेशी टोलीलाई खानेबस्ने व्यवस्था गरिएको संयोजक गणेश थापाले बताए ।
नेपालीको हकमा विश्वविद्यालयमा दर्ता भएका खेलाडीमात्र खेल्न पाउनेछन् । संघका प्रवक्ता सुरज सेजुवालले कुल रन बराबर वृक्षरोपण पनि गरिने जनाए । टिकट दर १ सय र ५ सय तोकिएको प्रतियोगितामा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढ्ने कान्छा आरोही निमारिन्जी शेर्पा सद्भाव दूत रहेका छन् ।
