काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापान यूटीआर प्रो टेनिस टुरमा अर्को पराजय बेहोरेका छन् ।
जापानको नोडामा भएको प्रतियोगिताको मेन्स सिंगल्सतर्फ बिहीबार अभिषेक घरेलु प्रतिद्वन्द्वी कोहतारो कुरियामासँग ७–५, ६–१ ले पराजित भएका हुन् । पहिलो सेटमा कडा टक्कर दिएका अभिषेकले त्यही लय कायम गर्न सकेनन् ।
उनी पहिलो खेलमा जापानका ताकेतो ताकामिसावासँग ६–२, ६–३ को सोझो सेटमा पराजित भएका थिए ।
२० हजार अमेरिकी डलर पुरस्कार राशिको यूटीआर प्रो टेनिसमा विभिन्न देशका ३ हजारभन्दा बढी खेलाडीको सहभागिता छ ।
यूटीआर टुर खेल्ने नेपालका एक्लो प्रतिस्पर्धी अभिषेकले राउन्ड रोबिनको अर्को खेलमा शुक्रबार अस्ट्रेलियाका अर्जुन मलहोत्रासँग प्रतिस्पर्धा गर्नेछन् । अभिषेकले जापानको सिरिज आफ्नो लागि विश्व वरीयता सुधार र अन्तर्राष्ट्रिय अनुभवका लागि महत्वपूर्ण रहने बताएका छन् ।
