सुदूरपश्चिम र एपीएफ विजयी

माघ २, २०८१

अर्जुन शाह

Sudurpaschim and APF won

धनगढी — सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबको विजयसँगै मंगलबारदेखि धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो ।

गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमै पूरा गरेको थियो । रेवती धामीले अविजित २१ रन बनाइन् । उनले २७ बल खेली २ चौका प्रहार गरिन् । अर्का अविजित शोभा रोकायाले ४ रन जोडिन् । मनीषा बोहरा ९, कविता कुँवर ८ र कप्तान बिन्दु रावल ६ रन बनाई आउट भए । गण्डकीबाट अपेक्षा बुढाथोकी र आकृति तिवारीले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले खराब प्रकाशका कारण १५ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाई ५५ रन बनाएको थियो ।

शीतलहर र हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेलमा रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाइन् । निरुता जीटी ७, श्रीया शाही ३ र सलिना सेन २ रनमा आउट भए । सुदूरपश्चिमबाट रेवती धामीले ४ विकेट लिइन् । उनले ३ ओभरमा ९ रन मात्र खर्चेकी थिइन् । जानकी थापा र भेट्रान ऋतु कनौजियाले १/१ विकेट लिए । 

दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ममता चौधरी र इन्दु बर्माको अर्धशतकमा निर्धारित २० ओभरमा १ विकेट गुमाई १ सय ८१ रन बनायो । प्लेयर अफ द म्याच ममताले ६६ बल खेली १० चौकासहित ७८ र इन्दुले ३४ बल खेली ७ चौकासहित ५२ रन बनाइन् । राजमती ऐरी २४ बल खेली ३ चौका प्रहार गरी २२ रनमा दीक्षा पुरीको बलमा आउट भइन् । 

जवाफमा आएको कर्णालीले ७ विकेट गुमाई ७१ रन मात्रै बनाउन सक्यो । दीक्षाले १७ तथा रमा बुढाथोकी र गौरी बोहराले समान १०/१० रन बनाए । एपीएफबाट करुणा भण्डारीले ३ तथा रेखा रावल र सुमन विष्टले १/१ विकेट लिए । करुणाले ४ ओभरमा ११ रन मात्र खर्चेकी थिइन् । 

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । विजेताले ५ र उपविजेताले ३ लाख पाउने छन् । त्यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५/२५ हजार तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully