आर्मीका अगाडि पुलिस क्लब निरीह

माघ २, २०८१

भूषण यादव

Police club in front of the army

वीरगन्ज — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलमा दोस्रो दिनको खेलमा स्पिनरहरूको वर्चस्व रह्यो । बुधबार कुल झरेको २६ मध्येको २५ विकेट स्पिनरका नाममा रह्यो । त्यसमा पनि २२ विकेट देब्रेहाते स्पिनरले लिएका थिए ।

आर्मी देब्रेहाते स्पिनर शाहब आलमले यसको पूरा फाइदा उठाए । उनले बुधबारको खेलमा मात्र ११ विकेट लिए । उनले एक दिन दुवै इनिङ्समा ५–५ वा सोभन्दा बढी विकेट लिने दुर्लभ कीर्तिमान पनि बनाए । उनले खेलमा कुल १२ विकेट लिइसकेका छन् । प्रतियोगिताको चार खेलमा उनले ३३ विकेट लिइसकेका छन् । 

८५–२ बाट दिनको खेल प्रारम्भ गरेको पुलिसले १३३–९ मा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । कुशल भुर्तेलले आफ्नो अघिल्लो दिनको खेलमा १ रन मात्र थपेर ५१ रनमा आउट भए । उनी दिनको खेलमा शाहबको पहिलो सिकार भए । कप्तान आरिफ शेखलाई शाहबले शून्य आउट गरे । अर्जुन साउद २८, रसिद खान १० र गुलशन झा ६ रनमा आउट भए । शाहबले १२.४ ओभरमा ३७ रन खर्चेर ७ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए । 

जवाफमा आएको आर्मीले झनै खराब सुरुवात गर्‍यो । तृतराज दास ८ र सन्तोष कार्की शून्यमा आउट भए । भीम सार्कीले ५५ बलमा ५८ रन बनाउँदै आर्मीको स्कोरलाई बढाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । बसिरले ५५ बल खेल्दै ३ चौकाका साथ ४०, सोमपालले ३२, कप्तान विनोद भण्डारीले १४ रन बनाएपछि आर्मी ३९.५ ओभरमा १ सय ७० रनमा अलआउट भयो । पुलिसका देब्रेहाते स्पिनर सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चिएर ५, कुशलले ३ तथा ललित राजवंशी र गुलशन झाले १–१ विकेट लिए । 

पहिलो इनिङ्सका आधारमा ३७ रनले पछि परेको पुलिसले दोस्रो दिनको खेल समाप्त हुँदासम्म ९ विकेटको क्षतिमा १ सय ३२ रन जोडेको छ । पुलिस ९५ रनले मात्र अगाडि रहेको अवस्थामा सागर ढकाल १ र ललित राजवंशी शून्यमा क्रिजमा छन् । कुशलले दोस्रो इनिङ्समा ४५ रन बनाए । दिलीप नाथले ३४, रसिदले १८ र अमृत श्रेष्ठले १३ रन बनाए । कप्तान आरिफ ५ रनमै आउट भए । शाहबले ५ र अर्का देब्रेहाते स्पिनर बसिरले ४ विकेट लिएका छन् । तीनदिवसीय फाइनलको बिहीबार अन्तिम दिन हुनेछ । 

भूषण यादव

Link copied successfully