सुकुटेमा राष्ट्रिय बिच भलिबल सुरु

माघ २, २०८१

अनिश तिवारी

National Beach Volleyball begins in Sukuta

सिन्धुपाल्चोक — आठौं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता मंगलबारदेखि चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा सुरु गरिएको छ । नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघद्वारा आयोजित सुनकोशी नदी किनार बगरमा मंगलबार पहिलो दिन तीन पुरुष र महिलाको चार खेल भएको थियो ।

जसमा नेपाल पुलिस क्लबका चन्द्र कुँवर र सफल विकको जोडीले सुदूरपश्चिम प्रदेशका नवराज धामी वरुण ठगुन्नामाथि २१–१० र २१–१२ सेटमा सहज जित निकाले । एपीएफका राजकुमार निरौला र महेन्द्र श्रेष्ठको जोडीले मधेश प्रदेशका भरत यादव र इब्राहिम आलमको जोडीलाई २१–११ र २१–१० को सेटमा पराजित गरे । 

महिलातर्फ नेपाल एपीएफ क्लबकी रस्मिता दुरा र जसना महतोको जोडीले सुदूरपश्चिम प्रदेशको जोडीलाई २१–९ र २१–७ ले, कोशी प्रदेशका अञ्जना लिम्बू र सुस्मिता लावतीको जोडीले बागमती प्रदेशकी अञ्जना क्षेत्री र अनु तामाङको जोडीलाई २१–८ र २१–१२ ले पुलिसकी कमला पुन र मनीषा चौधरीको जोडीले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशकी सीता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१–४ र २१–२ को सेटमा पराजित गरे । 

त्यस्तै त्रिभुवन आर्मी क्लबका सुनिता राई र भावना दङ्गीको जोडीले गण्डकी प्रदेशमाथि २१–३ र २१–१३ को सेटमा जित निकाले । बुधबारको खेलमा पुरुषमा ८ र महिलामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ ।

सात प्रदेशका एक पुरुष, एक महिला टोली तथा विभागीय टोलीका एक महिला र एक पुरुष टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलोदेखि चौथो हुनेले क्रमशः ५०, २५, १५ र १० हजारसहित मेडल, प्रमाणपत्र पाउने छन् । प्रतियोगिताले सुकुटेको पर्यटनमा सघाउ पुग्ने विश्वास सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाको रहेको छ । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully