काठमाडौँ — नेपाल कबड्डी लिग (एनकेएल) ले केबी सामलाई प्रमुख प्रायोजकका रूपमा भित्र्याएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा शुक्रबारबाट नेपालमा पहिलो पटक कबड्डीको फ्रेन्चाइज लिग हुँदै छ । प्रतियोगिता अब केबी साम नेपाल कबड्डी लिगको नामले सञ्चालन हुनेछ ।
दशरथ रंगशालास्थित कभर्डहलमा ६ सहरका ६ वटा टिमले राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् । प्रमुख प्रायोजन सम्झौतामा एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रूपेश थापाले हस्ताक्षर गरे । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलका लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीनवर्षे सम्झौता गरेको हो ।
सम्झौताअनुसार केबी सामले वार्षिक ७५ लाख रुपैयाँ एनकेएललाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो । नेपालमा २५–३० हजारले कबड्डी खेल्छन् । हामीसँग उच्चस्तरका खेलाडी छन् । यसले नेपालमा कबड्डीको राम्रो सम्भावना भएको देखाउँछ । यसैका लागि केबी सामले साथ दिएको हो ।’
केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रूपेश थापाले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवर्द्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ ।’
एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागी छन् ।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने छन् ।
