आईसीसी यू–१९ विश्वकप अभ्यास खेल : वेस्ट इन्डिजसँग नेपालको झिनो हार

पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको नेपालद्वारा वेस्ट इन्डिजलाई कडा चुनौती, अर्को अभ्यास खेल अमेरिकासँग

माघ १, २०८१

कान्तिपुर संवाददाता

ICC U-19 World Cup practice match: Nepal narrowly lost to West Indies

काठमाडौँ — नेपाल आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ । मलेसियामा सोमबार सुरु अभ्यास खेलमा वेस्ट इन्डिज यू–१९ ले नेगेरी सेम्बिलानस्थित कलेज टुएन्कु जाफर मैदानमा नेपाललाई ९ रनले पराजित गर्‍यो । 

टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ९ रन बनाएको थियो । असाबी कलेन्डर र अमृता रामताहालले पावर प्लेको पहिलो ६ ओभरमा ३१ रन जोडेर क्यारेबियन टोलीलाई राम्रो सुरुआत दिलाएका थिए । सातौं ओभरको पहिलो बलमा रचना चौधरीले अमृतालाई आउट गरी यो साझेदारी तोडेका थिए । 

अमृताले १४ बलमा २ चौकासहित १० रन बनाइन् । असाबीले ३६ बल खेली २ चौकासहित २३ रन जोडी रन आउट भइन् । कप्तान समरा रामनाथले सर्वाधिक २५ रन बनाइन् । उनले ३३ बल खेली २ चौका प्रहार गरिन् । इनिङ्सकी अन्तिम बलमा रन आउट भएकी अबिगाइल ब्रिसले ११ बल खेली ३ चौकासहित १९ रन बनाइन् । जहाजरा क्लासटनले २६ बल खेली २ चौकासहित २२ रन बनाइन् । नेपालबाट रचना चौधरीले ४ ओभरमा १७ र सिमाना केसीले ४ ओभरमा १९ रन खर्चेर १–१ विकेट लिइन् । कप्तान पूजा महतोले ४ ओभरमा ३२ रन खर्चिन पुगिन् । 

पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको नेपाल जवाफमा १९.१ ओभरमा १ सय रनमै अलआउट भयो । सिमानाले १९ बलमा ३ चौकासहित २३ रन बनाए पनि नेपाललाई विजय दिलाउन पर्याप्त भएन । उनी आठौं खेलाडीका रूपमा आउट भएकी थिइन् । नेपालले २ रनको अन्तरमा अन्तिम ३ विकेट गुमाएको थियो । 

नेपालको सुरुआत राम्रो थिएन । इनिङ्सको पहिलो बलमै सना प्रवीणलाई केनिका कासरले बोल्ड गरिन् । अर्की ओपनर सावित्री धामीले पनि १७ बल खेली ५ रनमात्र बनाउन सकिन् । कप्तान पूजाले २० बल खेली ३ चौकासहित १८ र उपकप्तान सोनी पाख्रिनले २३ बल खेली १५ रन बनाइन् । 

ज्योत्सनिका मरासिनी र अलिसा यादव दुवै १ रनमा आउट भइन् । किरण कुँवरले १८ बल खेली २ चौकासहित १४ रन बनाइन् । तृष्णा विश्वकर्मा ३ र अनु कडायत १ रनमा आउट भइन् । वेस्ट इन्डिजकी तृषा हर्दात, आलिया विकेस र एमिह गिल्बर्टले २–२ विकेट लिइन् । नेपालले बुधबार अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्नेछ । 

समूह ‘डी’ मा रहेको नेपालले शनिबार बंगलादेशविरुद्ध खेलेर यू–१९ विश्वकपको यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ । 

कान्तिपुर

Link copied successfully