चौथो राष्ट्रपति रनिङ सिल्ड लीलाराम माविलाई 

पुस २९, २०८१

माधव ढुंगाना

4th President Running Shield Leelaram Mavi

भैरहवा — सिद्धार्थनगरको अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधि लीलाराम माध्यमिक विद्यालयले हात पारेको छ ।

११ स्वर्ण, १२ रजत र १० कांस्य पदक प्राप्त गरी लीलारामले सोमबार सिल्ड प्राप्त गरेको हो ।  १० स्वर्ण, ७ रजत र ५ कांस्य पदक प्राप्त गर्दै मुनलाइट दोस्रो र ४ स्वर्ण, ३ रजत र ६ कांस्य पदक प्राप्त गर्दै काशी नोबल एकेडेमी तृतीय भएको छ । 

प्रतियोगिताअन्तर्गत तेक्वान्दो, एथलेटिक्स, कबड्डी र भलिबल खेल भएका थिए । भलिबलतर्फ १९ विद्यालयका छात्र र छात्राहरुका समान १६ टिमको सहभागिता थियो ।

कबड्डीतर्फ १३ विद्यालयका छात्रतर्फ ११ र छात्रातर्फ १० टिमको सहभागिता थियो । तेक्वान्दोतर्फ १५ विद्यालयका छात्रतर्फ १० र छात्रातर्फ १२ टिम सहभागी थिए ।

एथलेटिक्सतर्फ २० विद्यालयका ७ सय ६० छात्रछात्राको सहभागिता थियो । प्रतियोगिता अवधिभर ४२ वटा इभेन्टमा खेल भएका थिए ।

गत शनिबारदेखि संचालित उक्त प्रतियोगितामा नगरका २७ विद्यालयका १ हजार २ सय ८९ विद्यार्थी सहभागी थिए ।

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully