काठमाडौँ — नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला हुने भएको छ । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म हुने त्रिकोणात्मक शृंखला राउन्ड रोबिनमा प्रतिस्पर्धा हुनेछ । तीन राउन्ड रोबिनमा सर्वाधिक अंक बटुल्ने टोली प्रतियोगिता विजेता बन्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
सवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । जनवरी ३० मा नेपाल र नेदरल्यान्ड्सबीच पहिलो खेल हुनेछ । त्यसको भोलिपल्ट नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा थाइल्यान्ड १३ औं, नेदरल्यान्ड्स १६ औं र नेपाल २० औं स्थानमा छन् ।
नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो तेस्रो र कीर्तिपुरमा खेल्न लागेको यो दोस्रो अन्तर्राष्ट्रिय शृंखला हो । नेपालले घरेलु मैदान पोखरामा पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद खेलेको थियो । त्यस्तै २०२२ को मेमा युगान्डाविरुद्ध कीर्तिपुरमा खेलेयता नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्पर्धा खेल्न लागेको हो ।
धनगढीमा माघ १ देखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएलगत्तै नेपाली महिला टोली त्रिकोणात्मक शृंखलाको तयारीमा जुट्ने छ ।
