काठमाडौँ — बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८ औं संस्करणमा दोहोरो स्वर्ण विजेता सद्भाव आचार्यसहित नेपाली गल्फ टिम आइतबार स्वदेश फर्किएको छ । सद्भावले प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका थिए ।
चारदिने प्रतियोगितामा सद्भावले समग्रमा ३–ओभर २९१ को स्कोर बनाई ६ स्ट्रोकको फराकिलो अन्तरमा व्यक्तिगततर्फको उपाधि जितेका थिए । नेपालले सन १९८८ को दोस्रो संस्करणदेखि सहभागिता जनाउँदै आए पनि उपाधि जितेको यो पहिलो पटक थियो । सद्भाव टिम र व्यक्तिगत दुवैतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी पनि बने । व्यक्तिगततर्फ यसअघि सुवास तामाङले रजत तथा दीपक आचार्यले कांस्य जितेका थिए । टिमतर्फ भने सुवास र सद्भावले ३६ औं संस्करणमा स्वर्ण पदक जितेका थिए ।
नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, महासचिव दीपक आचार्य तथा सदस्य दीपक थापा मगरलगायतले त्रिभुवन विमानस्थलमा सद्भाव, टिमतर्फ स्वर्ण जितेका राहुल विके तथा नेपाली महिला खेलाडीद्वय तारा कार्की चित्रकार र सम्झना खत्रीलाई स्वागत गरे ।
टिम स्पर्धामा नेपालले बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकले हराउँदै स्वर्ण जितेको थियो । सद्भाव र राहुलको जोडीले इभन–पार २८८ स्कोरमा स्वर्ण जितेको हो । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र अस्ट्रेलिया गरी ८ देशका कुल १ सय खेलाडीले भाग लिएका थिए ।
