श्रवणको ह्याट्रिक विकेट, पुलिस बलियो

जय ट्रफी पुरुष दुईदिवसीय क्रिकेटमै पुलिसका श्रवणको ह्याट्रिक विकेट पहिलो

पुस २८, २०८१

अजित तिवारी

Shravan's hat-trick wicket, Police strong

जनकपुर — नेपाल पुलिस क्लबको जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल यात्रा निश्चित जस्तै भएको छ । पुलिस क्बल शनिबार सुरु तेस्रो चरणको खेलमा बागमती प्रदेशविरुद्ध बल र ब्याट दुवैमा छाएको थियो । 

टस जितेको पुलिसबाट श्रवण यादव, ललित राजवंशी र कुशल भुर्तेलले बलिङमा प्रभाव देखाएपछि बागमती इनिङ्स लामो टिक्न सकेन । श्रवणले ह्याट्रिक विकेट लिएर पुलिसलाई खेलमा हाबी राखेका थिए । उनले लगातार बलमा प्रतीक श्रेष्ठ, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेलाई आउट गरेका थिए । 

जय ट्रफीमा यो पहिलो ह्याट्रिक विकेट हो । श्रवणले २७ औं ओभरको चौथो बलमा प्रतीकलाई १२ रनमा आउट गरे । त्यसपछि अर्को बलमा सूर्यलाई शून्यमा बोल्ड गरेका श्रवणले छैटौं बलमा सन्दीपलाई पनि खाता खोल्न दिएनन् । 

अन्ततः बागमती ३३.२ ओभरमा १ सय १२ रनमा अलआउट भयो । इशान पाण्डेले ९४ बलमा सर्वाधिक ७१ रन बनाए । ओपनिङ ब्याटर उनले १० चौका प्रहार गरे । त्यसपछि दोहोरो स्कोर बनाउनेमा प्रतीकमात्र रहे । इशानका ओपनिङ जोडी रित गौतम ६ रनमै आउट भए । 

शुभ कंसाकार र उत्तम थापामगर समान २, नन्दन यादव ४, प्रतिश जिसी ८ रनमा आउट भए । रोशन बिक शून्यमा आउट हुने तेस्रो खेलाडी थिए । देब्रेहाते स्पिनर ललितले ४ विकेट लिए । उनले ९ ओभरमा २ मेडन राख्दै २७ रन खर्चे । भुर्तेलले २ विकेट लिए । 

जवाफमा पुलिस २ सय १५ रनमा अलआउट भयो । पुलिसले पहिलो इनिङ्सका आधारमा १ सय ३ रनको अग्रता लिएको थियो । दिलीप नाथ ७, भुर्तेल ८ र रशिद खान ४ रनमै पेभिलियन फर्किएपछि अर्जुन साउद र अमित श्रेष्ठले चौथो विकेटमा १ सय ४८ रनको साझेदारी गरेका थिए । 

अर्जुनले ८२ बल खेल्दै ८ चौका र २ छक्कासहित ७७ र अमितले ९७ बल खेलेर १० चौका र २ छक्का प्रहार गर्दै ७९ रन बनाए । गुलशन झा १८ बलमा १७ रन बनाएर रनआउट भए । बागमतीबाट सन्दीपले ११.५ ओभरमा ६५ रन खर्चेर ४, नन्दन र प्रतिशले २–२ तथा रिजन ढकालले १ विकेट लिए । 

पहिलो दिन खेल सकिँदा बागमतीले कुनै विकेट नगुमाई ८ रन बनाएको छ । इशान ३ र रित ५ रनमा खेलिरहेका छन् । टोलीलाई इनिङ्स हारबाट जोगिन अझै ९६ रन बनाउनुपर्नेछ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully