आर्मी जितनजिक

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Army close to victory

वीरगन्ज — त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा मधेश प्रदेशविरुद्ध विजय नजिक पुगेको छ । यसले आर्मीको फाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

नारायणी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले २२५–९ मा इनिङ्स समाप्ति घोषणा गरेको थियो । पहिलो इनिङ्समा अधिकतम ६० ओभर खेल्न पाउने प्रावधानमा आर्मीले ५९.३ ओभरमा इनिङ्स समाप्ति गरेको हो । 

तृतराज दास ६, सन्तोष कार्की ९ र कप्तान विनोद भण्डारी ७ रनमै आउट भए । ओपनर इमरान शेखले ७५ बल खेल्दै ८ चौकासहित ४२ रन बनाए । विवेक यादव पुनः निराश बने । यसपटक उनी खाता खोल्न नसकी आउट भएपछि भीम सार्की र बसिर अहमदले सातौं विकेटमा १ सय २ रन जोडे । भीमले ९३ बलमा ६ चौकासहित ५२ रन बनाए । बसिरले ९८ बलमा ७ चौकासहित ६७ रन बनाए ।

सोमपाल कामी ५ र शाहब आलम शून्यमा आउट भए । पवन कार्की ८ रनमा अविजित रहे । मधेशबाट रन्जित कुमारले ५ विकेट लिए । उनले १६.३ ओभरमा ३ मेडन राख्दै ४४ रन खर्चे । प्रदिप पासवानले २, अभिषेक तिवारी र कप्तान हरिशंकर शाहले १–१ विकेट लिए । 

जवाफमा मधेश ३५.५ ओभरमा १ सय २ रनमा अलआउट भएपछि टोली फलोअनमा परेको थियो । शाहबले ६ विकेट लिएर मधेशको इनिङ्स खुम्च्याएका थिए । देव्रेहाते स्पिनर शाहबले १२ ओभरमा ५ मेडन राख्दै ३७ रन खर्चे । सोमपाल, आकाश चन्द, बसिर र पवनले १–१ विकेट लिए ।

मधेशका ओपनर शैलेन्द्र साहलाई शून्यमा आकाश चन्दले बोल्ड गरे । अर्का ओपनर मयन यादवले २१ बलमा १ चौकासहित ११ रन बनाए । नीरज यादव ८, साहिल पटेल ९, विशाल पटेल ३, हिमांशु दत्त ९ रनमा आउट भए । कप्तान हरिशंकरले सर्वाधिक ३१ रन बनाए । उनले ४३ बलमा४ चौका प्रहार गरे । अभिषेक १३ र प्रदीप १० रनमा आउट भए ।

पहिलो दिन खेल सकिँदा १ ओभर खेलेको मधेशले २ रन बनाएको छ र टोलीलाई इनिङ्सका हारबाट जोगिन अझै १ सय २१ रन आवश्यक छ । मधेशबाट हिमांशु र मयन क्रिजमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully