एन्फा महिला लिग : आर्मीविरुद्ध एपीएफको सान

पुस २८, २०८१

कान्तिपुर संवाददाता

ANFA Women's League: APF vs Army

काठमाडौँ — एन्फा महिला लिग फुटबलमा शनिबारको खेल एपीएफ फुटबल क्लबले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गरेको थियो । एपीएफको यो लगातार चौथो जित हो ।

एपीएफका लागि निशा थोकर, कप्तान अनिता बस्नेत र प्रीति राईले गोल गरेका थिए । पहिलो हाफमा दुवैले गोलरहित खेले । मध्यान्तरपछि अर्थात् ६० औं मिनेटमा अनिताको फ्रिकिकमा निशाको हेडर गरेर एपीएफलाई अग्रता दिलाइन् । 

तर ६९ औं मिनेटमा आर्मीकी विमला थापाले गोल गरेर खेल बराबरीमा ल्याइन् । खेलको ८५ औं मिनेटमा अनिताको पासमा प्रीतिले दर्शनीय गोल गरेपछि फेरि एपीएफले अग्रता बनायो । इन्ज्युरी समयमा अनिता आफैंले प्रहार गरेको फ्रिकिकमा गोल भएपछि एपीएफले जित आत्मसात गरेको थियो । एपीएफले आर्मीलाई पहिलो चरणमा २–१ को जित पाएको थियो ।

एपीएफ १२ अंकसहित शीर्षस्थानमा छ । टोली अपराजित छ । आर्मीको पहिलो हार हो । टोलीले ४ खेलबाट ७ अंक बनाएको छ ।

कान्तिपुर

Link copied successfully