पहिलो विश्वकप खेल्न जाँदै महिला क्रिकेटर

अभ्यास खेल अमेरिका र वेस्ट इन्डिजसँग, विश्वकपमा माघ ५ मा बंगलादेश, ७ मा स्कटल्यान्ड र ९ मा अस्ट्रेलियासँग खेल्दै

पुस २७, २०८१

विनोद पाण्डे

Women cricketer going to play first World Cup

काठमाडौँ — नेपालको महिला यू–१९ क्रिकेट टोलीले मलेसियामा आउँदो सातादेखि हुने विश्वकपको तयारीस्वरूप घरेलु टोलीसँग ३ अभ्यास खेल खेलेको थियो । अभ्यासमा विपक्षी टोली थियो, राष्ट्रिय महिला टोलीका खेलाडीहरू । यो आधा राष्ट्रिय टोली जस्तो थियो भने आधा नेपाल एपीएफ क्लबजस्तै । 

अघिल्लो दिन अन्तिम अभ्यास खेलमा नेपाली यू–१९ टोलीले जित पाएको थियो । यसमा प्रशिक्षक महेशप्रसाद रिजाल र कप्तान पूजा महतोले फरक अनुभूति गरे । प्रशिक्षक रिजाल भन्छन्, ‘हामीले जितसहित प्रशिक्षण अन्त्य गर्‍यौं, त्यो पनि राष्ट्रिय खेलाडीले भरिएको टोलीसँग । यसले हाम्रो आत्मविश्वास निकै बढाएको छ ।’

कप्तान पूजा राष्ट्रिय टोलीकी पनि स्थापित सदस्य हुन् । अन्तिम अभ्यास खेलमा उनले एउटा जोखिम शट खेलेकी थिइन् । ‘मलाई नन स्ट्राइकमा रहेकी ज्योत्सनिका (मरासिनी) आएर जोखिम लिएर खेल्ने होइन दिदी, तपाईं टोलीकी प्रमुख खेलाडी हुनुहुन्छ, तपाईं आउट भएपछि खेल सकिहाल्छ, जोखिम त हामी लिएर खेल्छौं भनिन्,’ पूजाले यसमा आफ्नो टोलीमा टिम भावना विकास भएको देखिन । 

यसले आफूलाई बलियो साथ दिएको पूजा बताउँछिन् । ‘एउटा कप्तानप्रति टिमले कति माया र विश्वास देखाएको छ, यसले मलाई झनै बलियो बनाएको छ, टिममा पनि सकारात्मक भाव आएको छ,’ पूजाको तर्क थियो । निःसन्देह पूजा नेपाली टोलीकी प्रमुख खेलाडी हुन् । डिसेम्बर १६ मा नेपाल महिला यू–१९ ले पाकिस्तानलाई पराजित गर्दै एसिया कपको दोस्रो चरण पुग्दा पूजाले प्लेयर अफ द म्याच प्रदर्शन गरेकी थिइन् ।

Women cricketer going to play first World Cup

चितवन र मूलपानी क्रिकेट मैदानमा झन्डै तीन साताको प्रशिक्षणपछि नेपाली टोली शनिबार मलेसिया जाँदै छ, जहाँ नेपालले पाकिस्तानलाई यू–१९ एसिया कपमा पराजित गरेको थियो । पहिलो पटक आईसीसी यू–१९ विश्वकप खेल्न लागे पनि नेपाली यू–१९ टोलीका लागि मलेसिया परिचित भूमि हो । पूजाले यसअघि नै राष्ट्रिय टोलीबाट मलेसियामा पनि खेलिसकेकी छन् । 

नेपाली यू–१९ पुरुष टोलीले आठ पटक यू–१९ विश्वकप खेलिसकेको छ । महिला यू–१९ टोलीको हकमा भने यो पहिलो हो । नेपाल क्रिकेट संघका सचिव पारस खड्का विगतमा आफू यू–१९ बाट खेल्दाको टोलीलाई वर्तमान यू–१९ महिला टोलीसँग दाँजेर महिला क्रिकेटको सुन्दर भविष्य कल्पना गर्छन् ।

‘नेपालको पुरुष यू–१९ टोलीले विश्वकपसहितका प्रतियोगितामा राम्रो प्रदर्शन देखाउँदा त्यसको प्रभाव राष्ट्रिय टोलीमा पनि पर्‍यो, अहिले यू–१९ महिला टोलीले पनि राष्ट्रिय टोलीमा प्रभाव देखाउन सक्ने क्षमता छ,’ सचिव खड्काले, ‘धेरैले हामी यू–१९ विश्वकप खेल्छौं भनेर सोचेका पनि थिएनन् । अब हामी महिला क्रिकेटलाई केन्द्रित गरेर धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछौं ।’

पाकिस्तानलाई यू–१९ एसिया कपमा पनि पराजित गरेकाले नेपालले यू–१९ विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास सचिव खड्काको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान खड्का नेपाली यू–१९ महिला टोलीलाई धेरै दबाब नलिई खेल्न सुझाव दिन्छन् । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियाका विभिन्न स्थानमा यू–१९ विश्वकप हुनेछ । त्यसअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग यू–१९ को विश्वकप अभ्यास खेल खेल्नेछ । 

‘हाम्रो जस्तो देशका लागि विश्वकप सहभागिता रोमाञ्चित विषय हो, खेलाडीहरूले यसमा जुन अनुभव लिनेछन्, त्यो नेपाली क्रिकेटको भविष्यका लागि निकै फलदायी हुनेछ,’ सन् २००४ को विश्वकपमा नेपाल यू–१९ टोलीका सहायक प्रशिक्षक रहेका रिजालले भने, ‘चुनौतीपूर्ण लक्ष्य नै हाम्रो प्रस्तुति हुनेछ । दोस्रो चरण प्रवेश पाउन हाम्रो प्रयास हुनेछ ।’

Women cricketer going to play first World Cup

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग खेल्नेछ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष ३ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । सुपर सिक्समा ६–६ टोलीको दुई समूह हुनेछ । त्यसबाट शीर्ष चार टोली सेमिफाइनल पुग्नेछ । 

‘यू–१९ विश्वकपमा पुगेर, एसिया कपमा पाकिस्तानलाई हराएर हामीले इतिहास रचिसकेका छौं, विश्वकपमा पनि राम्रो खेलेर हामी अर्को इतिहास रच्ने छौं, राम्रो छाप छोड्न हामी लागिरहेका छौं,’ कप्तान पूजाले भनिन् । नेपालले समूह चरणमा ठूला राष्ट्रसँग खेल्न लागे पनि उमेर समूहमा टोलीको प्रदर्शनमा खासै भिन्नता नरहने उनी जनाउँछिन् । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा यू–१९ को प्रदर्शनबाट राष्ट्रिय टोलीका खेलाडीहरू गर्व महसुस गरिरहेको जनाउँदै विश्वकपमा राम्रो गरेर आउने टोलीलाई स्वागत गर्न आतुर रहेको बताउँछिन् । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी मिहिनेत, साहस र धैर्यता जसरी नेपाल यू–१९ महिला टोलीले देखाएको छ, त्यसले विश्वकपमा पनि राम्रो खेल्ने विश्वास लिएको बताउँछन् । उनले यू–१९ मा खासै भिन्नता नहुने हुनाले नेपाली टोलीलाई निर्धक्कसँग खेल्न सुझाव दिए । 

Women cricketer going to play first World Cupपूजा महतो, कप्तान

महिला टोलीलाई खोइ पुरस्कार घोषणा

नेपाल यू–१९ टोलीको बिदाइ कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंहले सरकारले महिला यू–१९ टोलीलाई पुरस्कार घोषणा नगरेर विभेद गरेको जनाए । उनले मन्त्री चौधरीको ध्यानाकर्षण गराउँदै भने, ‘यू–१९ पुरुष टोली विश्वकपमा छनोट भएर आउँदा सरकारले तुरुन्दै नगद पुरस्कार घोषणा गरेको थियो, तर महिला यू–१९ टोली पहिलो पटक विश्वकपमा छनोट भएर खेल्न जान लागिसक्दा पनि उनीहरूका लागि कुनै घोषणा भएको छैन, यो एउटा विभेद हो ।’ उपाध्यक्ष सिंहले राज्यले क्रिकटलाई अरू खेलभन्दा प्राथमिकतामा राख्न अनुरोध गरे । 

यू–१९ महिला विश्वकपको अर्को संस्करणमा नेपाल आफै सहआयोजक राष्ट्र हो । नेपालले बंगलादेशसँग मिलेर प्रतियोगिता आयोजना गर्दै छ । मलेसियाको यू–१९ विश्वकप नेपालका लागि प्रदर्शन र आयोजनाको हिसाबले पनि ठूलो अर्थ राख्ने छ । 

नेपाल कहिले कोसँग खेल्दै ?

अभ्यास खेल

विरुद्ध वेस्ट इन्डिज, जनवरी १३, 

विरुद्ध अमेरिका, जनवरी १५

समूह चरणका खेल

विरुद्ध बंगलादेश, जनवरी १८

विरुद्ध स्कटल्यान्ड, जनवरी २०

विरुद्ध अस्ट्रेलिया, जनवरी २२

को-को छन् नेपाली टोलीमा ?

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीन, ज्योत्सनिका मरासिनी, कुसुम कोदार, अलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना बिक, किरनकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा, अनु कडायत, महेशप्रसाद रिजाल (प्रमुख प्रशिक्षक), वीरेन्द्र शाह (सहायक प्रशिक्षक), मोनिका (स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षक), नेहा साह (फिजियो), रमन शिवाकोटी (भिडियो एनालिस्ट), जयन्तीदेवी भट्ट (व्यवस्थापक) ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully