सागकी पदकधारी बक्सर ललिता सम्मानित

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Sagki medalist boxer Lalita honored

काठमाडौँ — दक्षिण एसियाली खेलकुदकी पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जनलाई कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानले कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै खेलक्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नेलाई सम्मान गर्नेक्रमा बक्सर ललितालाई सम्मान गरेको हो ।

ललिता नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । घरेलु प्रतियोगितामा आर्मीको प्रतिनिधित्व गर्ने उनी ४८ केजी तौल समूहकी पदक विजेता हुन् । सागबाहेक ललिताले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । ललिता पनि चन्द्रागिरि नगरपालिकाकी बासिन्दा हुन् ।

सोही अवसरमा प्रतिष्ठानले पत्रकार पुष्पा शर्मा, अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक ९१ वर्षीया वेली बेलवासे र वडा १४ की ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान गर्‍यो । ललितासहित सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

त्यसै अवसरमा लोकबाजा संरक्षणमा महत्त्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचःलाई पनि१ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरूलाई आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुदमन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे । स्व. कमला कार्की प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीकी आमा हुन् । उनको २०७२ सालमा निधन भएको थियो ।  

कान्तिपुर

Link copied successfully