काठमाडौँ — नेपाली युवा गल्फर सद्भाव आचार्यले एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता दिलाएका छन् । उनले शनिबार ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा उपाधि जितेका छन् । सद्भावले बंगलादेशका शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराएर उपाधि जितेका हुन् । यो उपाधि जित्ने उनी पहिलो नेपाली गल्फर बनेका छन् ।
सन् १९८८ को दोस्रो संस्करणदेखि बंगलादेश गल्फमा नेपालले सहभागिता जनाइरहेको छ । सद्भावले नोभेम्बरमा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यू–२१ विधातर्फ स्वर्ण जितेका थिए । समग्रमा उनी दोस्रो भएका थिए ।
ढाकास्थित कुर्मितोला गल्फ क्लबमा शनिबार १ ओभर ७३ स्कोर बनाएका सद्भावले समग्रमा ३ ओभर २९१ सहित उपाधि जितेका हुन् । उनले फ्रन्टनाइन २ ओभर ३८ मा पूरा गरे । पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरेका उनले आठौं होलमा एक शट बचाए । १४ र १८ औं होलमा बर्डीको सफलता पाएका उले १५ औं होलमा भने एक शट खेर फाले । ब्याकनाइन १–अन्डर ३५ मा सकेका उनले पहिलो र दोस्रो दिन समान ३ अन्डर ६९ को प्रदर्शन गरेका थिए । तेस्रो दिन उनले ८ ओभर ८० को प्रदर्शन गरे । तर अन्तिम दिन सम्हालिँदै उपाधि जिते । बंगलादेशका सफिकुल र मोहम्मदले समग्रमा ९ ओभर २९७ को स्कोरसहित दोस्रो स्थान प्राप्त गरे । शनिबार सफिकुलले १ ओभर ७३ र मोहम्मदले ३ ओभर ७५ मा खेल सकेका थिए । बंगलादेशकै मोहम्मद समिम ११ ओभर २९९ सहित चौथो भए । उनले शनिबार इभन–पार ७२ को कार्ड बनाए । समग्रमा १२ ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे । उनले ६ ओभर ७८ को खराब प्रदर्शन गरे । नेपालका राहुल बिकेले ६ ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६ ओभर ३०४ सहित छैटौं स्थानमा टुंग्याए । सद्भावका लागि यो प्रतियोगिता विशेष बन्यो । उनले दुई स्वर्ण जितेका छन् । व्यक्तिगततर्फ उपाधि जितेका उनले राहुल बिकेसँग मिलेर टिम इभेन्टमा पनि नेपाललाई इभन–पार २८८ स्कोरसहित स्वर्ण दिलाएका थिए । यसअघि उनले ३६ औं संस्करणमा सुवास तामाङसँग मिलेर टिमतर्फ स्वर्ण जितेका थिए ।
चार दिने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र अस्ट्रेलिया गरी ८ देशका एक सय खेलाडीले ढाकामा प्रतिस्पर्धा गरेका थिए ।
