रन फर युनिटी म्याराथनको उपाधि कल्सुन र अमरनाथलाई 

पुस २७, २०८१

शंकर आचार्य

Run for Unity Marathon title to Kalsun and Amarnath

पर्सा — पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार वीरगन्जमा आयोजित ‘रन फर युनिटी म्याराथन’ को छात्रातर्फको उपाधि वीरगन्जकी कल्सुन खातुनले हात पारेकी छन् । प्रीति पटेल दोश्रो र सरिता भूल तेश्रो भइन् । छात्रतर्फको उपाधि   वीरगन्जका अमरनाथ साहले जिते । म्याराथनमा बारा कोहल्वीका रुपेश माझी दोस्रो  र रोहन माझी तेस्रो भए ।

विजेताहरुले कप, मेडल र प्रमाणपत्रसँगै स्मार्टफोन, नगद पुरस्कार र निःशुल्क वाईफाई सेवा लगायतका पुरस्कार पाएका छन् । म्याराथनमा सहभागी चार हजार बढी सहभागीले पनि विभिन्न सेवामा छुटको सुविधा पनि पाएका छन् । 

इम्प्रुभिङ वीरगन्ज क्लबले वीरगन्ज महानगरपालिकाको सहकार्यमा उक्त म्याराथन आयोजना गरेको हो । वीरगन्जस्थित नेपाल भारत सीमामा रहेको शंकराचार्य नेपाल प्रवेशद्वारबाट सुरु भएको म्यारथन रेल्वे रोड हुँदै घण्टाघर, आदर्शनगर, छपकैया हुँदै पुन नेपाल प्रवेशद्वारमा पुगेर सम्पन्न भएको थियो ।

विजेतालाई पुरस्कृत गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत सरन गुप्ताले समाजिक एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय एकता दिवसको अवसर पारेर म्याराथनको आयोजना गरिएको बताए ।

कार्यक्रममा युवा नेता कन्चन झा, महिला नेतृ डा. सुष्मा तिवारी, वीरगन्ज महानगरपालिकाकी कार्यपालिका सदस्य कनिका कौशिक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully