धेरैजसो रेकर्ड तोड्नु मेरो सपना हो : सन्तोषी श्रेष्ठ

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Breaking most records is my dream: Santoshi Shrestha

काठमाडौँ — सन्तोषी श्रेष्ठ एथलेटिक्स खेलाडी हुन्। श्रेष्ठले १३औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड राखेकी थिइन् ।

लामो दुरीका दौड प्रतियोगिताहरूमा बलियो उपस्थिति जनाइरहने उनै सन्तोषीसँग ईकान्तिपुरका लागि गरिएको पाँच प्रश्नको सम्पादित अंश : 

१. तपाईंका लागि आदर्श खेलाडी को हुन् ?

मेरो लागि आदर्श खेलाडी सिफन हसान हुन् । साथै, पछिल्ला समयका  भाइ–बहिनीबाट पनि केही कुराहरू सिक्ने गरेको छु । सबै खेलाडी मेरो लागि आदर्श हुनुहुन्छ । तर, एउटा छान्नुपर्यो भने सिफन हासनलाई आदर्श मान्छु ।

२. तपाईंले भुल्न नसक्ने पराजय कुन हो ?

मैले कहिल्यै भुल्न नसक्ने पराजय १९औँ एसियाली खेलकुद हो । चीनमा भएको त्यो खेल म भुल्न सक्दिनँ । यसका साथै, साउथ एसियन गेम्सको ५ हजार मिटरको पराजय पनि भुल्न नसक्ने पराजय हो । 

३. कसलाई आफ्नो उपलब्धिहरू सबैभन्दा पहिले सुनाउनुहुन्छ ?

समय अनुसार धेरै कुरा परिवर्तन भइरहँदो रहेछ । म पहिले दाइलाई नै सबै कुरा सुनाउँथे । ममी–बुबासँगै नबस्दा उहाँहरूलाई सुनाउन पाउँथिन । तर ममी–बुवालाई आफ्नो उपलब्धि सबैभन्दा पहिला सुनाउने चाहना भने हुन्थ्यो नै । त्यतिबेला म मनमनै ती कुराहरु सुनाउँथे। तर सबैभन्दा पहिले दाइ र गुरुलाई भन्थेँ । 

४. तपाईंको सपना के थियो, र अहिले के छ ?

खेलाडीको रूपमा मेरो सपना ओलम्पियन बन्ने थियो, जुन पूरा भयो । खेलाडीको रुपमा अहिले मेरो सपना भनेको अझै राम्रो प्रदर्शन गर्नु, धेरैजसो रेकर्ड तोड्नु हो । मेरो देशले वर्ल्ड रेकर्डको मेडल ल्याउन सफल होस् । मैले योगदान गर्न सकुँ भन्ने छ । त्यसमा मेरो महत्वपूर्ण योगदान होस् भन्ने छ । 

५. तपाईंको खेल जीवनको सबैभन्दा स्मरणीय क्षण कुन हो ?

मेरो खेल जीवनको सबैभन्दा स्मरणीय क्षण साउथ एसियन गेम्सको १०,००० मिटर दौडको हो । साथै, ओलम्पिक म्याराथनको लाइन पूरा गर्नु पनि मेरो लागि अविस्मरणीय छ । जितको हिसाबले साउथ एशियन गेम्स हो भने म आफू र आफ्नो देशलाई गर्व गर्ने चैँ ओलम्पिक नै हो ।

कान्तिपुर संवाददाता

Link copied successfully