अनिताको ह्याट्रिकमा पुलिस स्तब्ध

घरेलु महिला फुटबल इतिहासमा एपीएफको अहिलेसम्मकै सानदार जित

पुस २६, २०८१

हिमेश

Police shocked by Anita's hat-trick

काठमाडौँ — यो यस्तो नतिजा हो, जसबारे कमैले चिताएका थिए । एपीएफले पुलिस क्लबमाथि आधा दर्जन गोल गर्छ भनेर कसले पो दाबी गर्न सक्छ र ? तर, भयो यस्तै । यो नतिजालेदेखाउँछ घरेलु महिला फुटबलमा एपीएफ कति धेरै अगाडि छ ।

पुलिस स्वयं कता छ भनेर । नेपाली घरेलु महिला फुटबलकै इतिहासमा एपीएफको यो जित अहिलेसम्मकै सबैभन्दा सानदार हो । एपीएफले धेरै लामो समयसम्म विभागीय डर्बीमा प्राप्त यो जित सम्झिने छ । 

त्यसैले पुलिसको हार पनि अहिलेसम्मकै सबैभन्दा खराब रह्यो, जसलाई भुलाउन टोलीलाई गाह्रै पर्नेछ । यो हारले पुलिसलाई लामो समय तर्साइरहने छ । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको यो जितपछि एपीएफको ३ खेलबाट ९ अंक भएको छ । टोली लिग तालिकाको शीर्षस्थानमा उक्लेको छ । अब एपीएफ नै उपाधिको एक्लो दाबेदार बनेको छ । एपीएफले खराब खेलेमात्रै अब अरूले उपाधि खोस्न सक्ने छ । 

पुलिस भने चार खेलबाट ७ अंकमै सीमित रह्यो । टोलीको दोस्रो स्थानमा रहेर क्वालिफायर–१ खेल्ने सम्भावनामा धक्का लाग्यो । यसपल्टको महिला लिगमै पुलिसको यो पहिलो हार हो । पहिलो र दोस्रो चरणमा गरेर १३ औं खेलमा पुगेर पुलिस पराजित रहेको हो ।

यससँगै पूरा प्रतियोगितामा एपीएफ अपराजित एक्लो टिम बनेको छ । पुलिसले दोस्रो चरणका यसअघि आफ्नो तीन खेलमा कुनै गोल नै खाएको थिएन । तर एपीएफसँग भने पुलिस खेलको अन्त्यतिर लाचारजस्तै देखियो र एकाएक ६ गोल खान बाध्य भयो । 

खेलपछि एपीएफका प्रशिक्षक जीवेश पाण्डेले भने, ‘यो खेलमा हाम्रा सबै खेलाडीले आ–आफ्नो जिम्मेवारी राम्रोसँग निभाए । मैले पनि यति ठूलो जितको कल्पना गरेको थिइनँ । खेलको सुरुमै आक्रामक खेल्ने योजना थियो । खेलको अन्त्यतिर आक्रमण जारी रह्यो । गोल पनि निस्कँदै गयो ।’ एपीएफ पहिलो हाफमा दुई गोलले अगाडि थियो । एक समय लागिरहेको थियो, यति नै स्कोरमा खेल सकिनेछ । तर अन्तिम सात मिनेटमा ४ गोल भयो । 

अनिताको पहिलो ह्याट्रिक

एपीएफले हात पारेको जितमा नायक रहिन्, कप्तान अनिता बस्नेत । जतिबेला उनको भविष्यलाई लिएर प्रश्न उठिरहेको थियो, ठीक त्यही बेला टिमको सही नेतृत्वमात्र गरिरहेकी छैनन्, पुलिसविरुद्ध त ह्याट्रिक नै गरिन् । यसैक्रममा उनले देखाइन्, अझै धेरै फुटबल खेल्न बाँकी छ । उनको अझै धेरै सम्भावना देखिएको छ । सन् २०२१ यता उनको यो पहिलो तीन गोलको व्यक्तिगत प्रदर्शन रह्यो । विभागीय प्रतिद्वन्द्वीविरुद्ध ह्याट्रिक गरेको यो नै पहिलो पटक हो । 

‘हामीले टिमका रणनीतिअनुसार खेल्यौं र यो सुखद जित प्राप्त भयो,’ अनिताको प्रतिक्रिया थियो, ‘विभागीय डर्बीमा प्राप्त जितले धेरै खुसी दिन्छ ।’ उनले ११ औं मिनेटमा गोलको खाता खोलिन् । यो भाग्यमानी गोल रह्यो । रेनुका नगरकोटेले ३७ औं मिनेटमा दोस्रो गोल थपिन् ।

एपीएफ पहिलो हाफमा दुई गोलले अगाड रह्यो । लागिरहेको थियो, पुलिसले पुनरागमन रच्न बेर छैन । तर, खेलको अन्त्यतिरको पटकथा बेग्लै तयार रहेछ, पुलिसका खेलाडीले यो समयमा के भयो र के भएन भन्नै सकेनन् । 

सबैभन्दा पहिले सरु लिम्बूले दुई गोल गरिन् । उनको गोल ८६ र ८७ औं मिनेटमा सम्भव भएको थियो । त्यसपछि अनिताले इन्ज्युरी समयको तेस्रो र चौथो मिनेटमा गोल थप्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन् । यी गोलबाहेक खेलको नवौं मिनेटमा यस्तो एउटा प्रहार र त्यसमा बचाउ देखियो कि त्यसले भन्छ, नेपाली महिला फुटबलमा पनि केही राम्रो त छ । सरुले पेनाल्टी एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहार पुलिसकी गोलरक्षक उषा नाथले दर्शनीय तरिकाले बचाउ गरेकी थिइन् । 

स्तब्ध पुलिस

पुलिस साँच्चै यो हारबाट कति धेरै स्तब्ध देखियो त ? प्रशिक्षक भोलानाथ सिलवालले भने, ‘खेलको अन्त्यतिर पुग्दा त केही बोल्न नसक्ने भइसकेको थिएँ । मैले हाम्रो पुलिस टिम यति धेरै गोलले हार्नेछ भनेर सोचेको पनि थिइनँ । तर, यो हारले देखाएको छ, हाम्रो टिममा पनि कमजोरी छ । खासमा आज हामीले बलमाथि धेरै नियन्त्रण राख्न सकेनौं । पासहरू पनि शृंखलाबद्ध रूपमा गलत भए । मैले दोहोर्‍याएर के पनि भन्नुपर्छ भने हाम्रो टिमको फरवार्डमा कमजोरी छ ।’ 

हारका बावजुत आफ्नो टिमको शीर्ष दुईमा रहेर लिग सक्ने सम्भावना कायम रहेको उनले दाबी गरे । ‘हाम्रो उद्देश्य शीर्ष दुई नै रहनेछ र यो सम्भव पनि छ । शीर्ष दुईमा रहनुको अर्थ क्वालिफायर–१ खेल्ने हो । यो खेलको अर्थ यसमा सहभागी हुने टिमसँग हारमै पनि थप एक अवसर हुनेछ ।’ प्रशिक्षक सिलवालले लगातार खेलिरहनुपरेकामा पनि गुनासो पोखे । 

अब शुक्रबार वालिङ नगरपालिकाले बागमती युथ क्लबको सामना गर्नेछ । शनिबारको खेल एपीएफ र आर्मीबीच हुनेछ ।

हिमेश

Link copied successfully