संखुवासभा — खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो 'तीनपोखरी कप' आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।
मकालु फ्रेन्डस क्लब खाँदबारीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै गत वर्षको विजेता एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि टाईब्रेकरमा एपीएफ विजयी भएको छ ।
शुक्रबारको अर्को खेलमा तीनपोखरी समाज विकास क्लबले खाँदबारी युथ क्लबलाई १–० गोल अन्तरमा पराजित गरेको छ । तीनपोखरीका लागि मिक्सेन लिम्बुले पहिलो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
तीनपोखरी समाज विकास क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा एपीएफ, भौसाबारी मोरङ, चुलाचुली झापासहित कोशी प्रदेशका आठ टिम सहभागी छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको एक लाख रुपैयाँ स्वास्थ्य बिमा गरिएको छ । प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ ।
