जनकपुर — त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा टुंगिएको छ । जय ट्रफी क्रिकेटमा दोस्रो दिन बिहीबार दोस्रो इनिङ्समा आर्मीले बागमतीका सबै विकेट लिन नसक्दा खेल बराबरीमा पुगेको हो ।
२ सय ४ रनको लक्ष्य पाएको बागमतीले निर्धारित समय ५ बजेसम्म २४.४ ओभर खेल्दै ५ विकेटमा ८० रन बनाएपछि खेल जित–हारको स्थितिमा पुगेन । बागमतीका शुभ कंसाकारले ६२ बलमा ३३ रन बनाए । उनलाई पवन कार्कीले आउट गरे । रित गौतम १६, आशुतोष घिरोहिया ४, इशान पाण्डे ६ र नन्दन यादव १३ रन बनााएर आउट भए । आर्मीका आकाश चन्द र पवनले २–२ तथा कुशल मल्लले १ विकेट लिए ।
पहिलो इनिङ्सका आधारमा ७६ रनको अग्रता लिएको आर्मीले २८.२ ओभर खेल्दै १२७–८ को स्थितिमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । बागमतीका बलर हाबी हुँदा आर्मीेले खुलेर रन बटुल्न सकेन ।
ओपनरद्वय इमरान शेख १५ र तृतराज दास २८ रनले बनाए । उनीहरूको पहिलो विकेटमा ५८ रनको साझेदारी १३ ओभरसम्म चलेको थियो । त्यसपछि भने बागमतीले कसिलो बलिङ गरेको थियो । प्रतिश जिसीले भीम सार्कीलाई ५ रन र सोमपाल कामीलाई शून्यमै पेभिलियन फर्काए ।
कप्तान विनोद भण्डारी ३० बलमा २७ रन बनाएर नन्दनको बलमा आउट भए । बसिर अहमद र पवन कार्की शून्यमै आउट भए । शाहब आलमले ४ रनमात्र बनाउन सके । नन्दनले १० ओभरमा ३२ रन दिएर ४ विकेट, प्रतिशले ४ ओभरमा १५ रन दिएर ३ विकेट र रिजन ढकालले १ विकेट लिए ।
यसअघि बागमतीले ९ विकेटमा २ सय रन बनाई इनिङ्स समाप्तिको घोषणा गरेको थियो । टोलीले ५० ओभर खेलेको थियो । १२४–५ बाट दोस्रो दिनको खेल सुरु गरेको बागमतीले ७६ रन थप्यो । विपिन आचार्यलाई पवनले २० रनमा आउट गरे ।
त्यसलगत्तै कप्तान सन्दीप लामिछानेले ८ बलमा १० रन बनाए । नन्दनले ८० बलमा १ चौका र २ छक्कासहित ५१ रन बनाएर बागमतीलाई २ सय रनमा उभ्याउन भूमिका खेले । प्रतिशले १५ बलमा ११ रन बनाए । आर्मीका आकाश चन्दले ३ तथा सोमपाल कामी, शाहब र पवनले २–२ विकेट लिए ।
