काठमाडौँ — केएमसी स्कुलको आयोजनामा चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा विभिन्न २८ विद्यालयका ३६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जानकारी गराए । सिनियर ब्वाइजमा १६, सिनियर गर्ल्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाा खर्च हुने केएमसीका ईसीए इन्चार्ज प्रवेश शाहीले जानकारी दिए । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गर्ल्समा एनसीसीएस र जुनियर ब्वाइजमा ज्ञान निकेतन साविक विजेता हुन् । एनसीसीएसबाहेक दुई साबिक विजेता यो संस्करणमा सहभागी छैनन् ।
प्रिन्सिपल अम्गाईंले विद्यार्थीमा खेलप्रति आकर्षण बढाउन र उनीहरूमा रहेको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेल आयोजकै कोर्टमा खेलाइने छ । लिगकम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ ६ हुनेछ ।
