राजधानीमा दक्षिण एसियाली स्ट्रिट डिफेन्स हुने

पुस २५, २०८१

कान्तिपुर संवाददाता

South Asian street defense in the capital

काठमाडौँ — नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका गरी ७० खेलाडीको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले बताए ।

पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौल समूहमा भिडन्त हुनेछ ।

हरेक तौल समूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशि ३ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार छ ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा दुई दिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि सुरु भएको छ । दुईदिने सेमिनारमा खेलाडी र प्रशिक्षक सहभागी छन् । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानको सहभागिता रहनेछ ।

मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गरिरहेका छन् । उनीहरूलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्नेछन् ।

कान्तिपुर

Link copied successfully