दार्चुला — प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ ।बिहीबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले उपाधि हात पारेको हो ।
फाइनल खेलमा जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । बैतडीले पाएको ७२ रनको लक्ष्य १२.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् ।
यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैतडीका लागि जानकी थापाले २ विकेट हात पारिन् । जानकी ओम्यान अफ द फाइनलसमेत चुनिइन् ।
यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् । कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बनिन् ।
विजेता, उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धीरेन्द्र साउद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार वितरण गरेका थिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका ७ टोलीको सहभागिता रहेको थियो । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
