त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोर्ट्स भलिबलको उपाधि

पुस २५, २०८१

घनश्याम गौतम

Madan Bhandari Sports Volleyball title to Tribhuvan Army

बुटवल — त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका–१० रामनगरमा भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो । 

प्रतिस्पर्धामा आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को अंकमा पराजित गरेको हो । पहिलो सेट पुलिसले सजिलै जितेको थियो । दोस्रो सेटमा आर्मीका धनबहादुर भट्ट, धनपति कुँवर, दुर्गा खड्का र दुर्गा महतोले सजिलै आर्मीलाई पुनरागमन गराए र खेल बराबरी भयो । तेस्रो सेट पुलिसले आफ्नो खातामा पार्‍यो । पुलिसका रविन चन्द, रविन नगरकोटी, पहलमान गहतराज, सन्जुविक्रम शाहले उत्कृष्ट तालमेल गर्दै जित दिलाए । 

चौथो सेटमा दुवै टिमले उत्कृष्ट खेल देखाए । तर, पुलिसले जित निकाल्न सकेन । जित निकाल्न पुलिसका लागि आर्मीका धनबहादुर भट्ट ठूलो समस्या बने । भित्र र बाहिर दुवै तर्फबाट उनले गरेका शक्तिशाली प्रहारलाई प्रहरीले रोक्नै सकेन र खेल बराबरीमा पुग्यो । पाँचौं सेटमा प्रहरीले जित निकाल्ने अपेक्षा गरेको थियो । सुरुवाती चरणमा प्रहरीले अग्रता लिएको थियो । तर, लय गुमाउन लागेको आर्मीका खेलाडी त्यसपछि संयमित बने ।Madan Bhandari Sports Volleyball title to Tribhuvan Army

अन्ततः पुलिसलाई ४ अंकमा रोक्दै अघि बढेका आर्मीका खेलाडीले पुलिसका सबै खाले प्रहारलाई कुशलतापूर्वक नियन्त्रण गर्दै अंक आफ्नो पक्षमा पार्न सफल भए । आर्मीका धनबहादुर भट्टले नै आर्मीलाई अधिकांश अंक दिलाए । अन्ततः अन्तिम ७ अंकका रोक्दै आर्मीले उपाधि हात पारेको थियो । 

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब सेट ब्याकका आधारमा तेस्रो भयो । राष्ट्रिय खेल खेल्न काठमाडौं गएका भारतको गुजरात स्टेट भलिबलका मुख्य २ खेलाडी नफर्किएपछि गुजरातले तेस्रो प्रतिस्पर्धाको खेल नखेल्ने निर्णय लिएको थियो । विजेता आर्मीले ट्रफी, सिल्डसहित ७ लाख नगद पुरस्कार प्राप्त गर्‍यो ।

पुलिसले दोस्रो स्थानसहित ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै खेलमा तेस्रो हुने मणिमुकुन्द भलिबल क्लबले १ लाख ५० हजार र चौथो हुने गुजरात स्टेट भलिबलले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully