काठमाडौँ — नेपालले ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । ढाकामा भइरहेको स्पर्धामा घरेलु बंगलादेश ‘बी’ टिमलाई १६ स्ट्रोकले पछि पार्दै नेपालले स्वर्ण जितेको हो । सदभाव आचार्य र राहुल बिकेको जोडीले इभन–पार २८८ स्कोर गरेका थिए ।
सद्भावले बिहीबार ३ अन्डर ६९ को स्कोर निकाल्दा राहुलले ४ ओभर ७६ स्कोर बनाए । नेपालले १ ओभर १४५ को स्कोर बनायो । पहिलो दिन नेपालले १ अन्डर १४३ स्कोर जोडेको थियो । सद्भावले टिमतर्फ स्वर्ण जितेको दोस्रो पटक हो । यसअघि ३६ औं संस्करणमा पनि सुवास तामाङसँग उनले स्वर्ण जितेका थिए ।
बंगलादेश ‘बी’ टिमका सफिकुल इस्लाम र रोमन मियाको जोडी दोस्रो भयो । १६ ओभर ३०४ स्कोरसहित घरेलु टोलीले रजत जित्यो । उनीहरूले १० ओभर १५४ स्कोर गरे । सफिकुलले बिहीबार ४ ओभर ७६ र रोमनले ६ ओभर ७८ मा खेल टुंग्याए । बंगलादेश ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद साहबुद्दिनको जोडीले कांस्य पदक जित्इो । उनीहरूले कुल १८ ओभर ३०६ को स्कोर गरेका थिए ।
नेपाल नम्बर एक सदभाव आचार्यले व्यक्तिगत स्पर्धामा ३६ होलको समाप्तिमा आठ स्ट्रोकको अग्रता बनाएका छन् । बंगलादेशका मोहम्मद साहबुद्दिनलाई पछि पारेका छन् । सद्भावले ३ अन्डर ६९ स्कोर बनाए । बिहीबार २ ओभर ७४ को स्कोर गरेका साहबुद्दिन समग्रमा २ ओभर १४६ स्कोरसहित दोस्रो स्थानमा छन् ।
श्रीलंकाका चुलिथा पुष्पिका तेस्रोमा छन् । उनले ३ ओभर ७५ खेल्दै समग्रमा ५ ओभर १४९ स्कोर बनाएका छन् । नेपालका राहुल बिके र बंगलादेशका सफिकुल इस्लाम ६ ओभर १५० सहित संयुक्त चौथो स्थानमा छन् । उनीहरूले बिहीबार समान ४ ओभर ७६ को प्रदर्शन गरे । ३६ होलको समाप्तिमा २९ ओभरसम्म खेलेका ५२ गल्फरले कट बनाएका छन् ।
