आर्मीभन्दा बागमती १५२ रनले पछाडि

जनकपुरमा पूरा ६० ओभर टिकेर आर्मी २७६ रन बनाउन सफल, वीरगन्जमा मधेश प्रदेश १२९ रनमै अलआउट

पुस २५, २०८१

अजित तिवारी

Bagmati is behind Army by 152 runs

जनकपुर — त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा पूरा ६० ओभर खेल्ने पहिलो टोली बनेको छ । विभागीय टोली आर्मीले बुधबार पहिलो इनिङ्समा तोकिएको पूरै ६० ओभर खेलेर ५ विकेट गुमाई २ सय ७६ रन बनायो । 

प्रतियोगिताको नियमअनुसार पहिलो इनिङ्समा ६० ओभर खेलेपछि इनिङ्स समाप्त हुनेछ । जवाफमा आएको बागमती प्रदेशले पहिलो दिनको खेल टुंगिँदा २२ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन बनाएको छ । आर्मीभन्दा बागमती अझै १ सय ५२ रनले पछाडि छ ।

मंगलबार रातिको सिमसिमे वर्षा र बिहानको बाक्लो हुस्सुका कारण जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती र आर्मीको खेल ढिलो सुरु भयो । इमरान शेख र तृतराज दासले २४ ओभरभित्र १ सय ३ रनको साझेदारी गरी आर्मीलाई उत्कृष्ट सुरुआत दिलाए । तृतराजले ७८ बलमा ६ चौकासहित ४४ रन बनाए । उनलाई बागमतीका कप्तान सन्दीप लामिछानेले एलबीडब्लू आउट गरे । 

इमरानले भीम सार्कीसँग दोस्रो विकेटमा ५४ रनको साझेदारी गरे । विपिन आचार्यको बलमा रिजन ढकालबाट क्याचआउट हुनुपूर्व इमरानले १ सय ४ बल खेल्दै ११ चौका प्रहार गरी ७२ रन बनाए । आर्मीका कप्तान विनोद भण्डारीले ३ बलमात्र खेलेर सन्दीपको बलमा शुन्यमै आउट भए । बसिर अहमद र भीमले चौथो विकेटमा १ सय २० रनको साझेदारी गरे । 

भीमले ३२ रन बनाए । उनले ५१ बल खेलेर २–२ चौका र छक्का प्रहार गरे । बसिरले नन्दन यादवको ओभरमा लगातार चार चौका प्रहार गरेपछि ४६ औं ओभरमा आर्मी ४ विकेट गुमाई २ सय रनको स्थितिमा पुग्यो । बसिर ६४ बलमा ८ चौका प्रहार गरि ५३ रनमा अविजित रहे । 

सोमपाल कामी ७ रनमै आउट भए । बसिरले कुशल मल्लसँग ६९ रनको अविजित साझेदारी गरे । कुशलले ४३ बल खेल्दै ४ चौका र १ छक्कामा अविजित ३५ रन जोडे । बागमतीबाट विपिन आचार्यले १३ ओभरमा ४५ रन खर्चेर ३ र सन्दीपले २२ ओभरमा १ सय ३ रन खर्चिएर २ विकेट लिए । 

बागमतीका लागि नन्दन यादव १८ र विपिन आचार्य १ रन बनाएर खेलिरहेका छन् । आशुतोष गहियाले ९ बलमा ११, रित गौतमले १६ बलमा २१ र इशान पाण्डे ४ रन बनाई आउट भए । ३८ रनमै ३ विकेट गुमाइसकेको अवस्थामा उत्तम थापामगर र शुभ कंशाकारले ५४ रनको साझेदारी गरी बागमतीको सुधारे । 

उत्तमले ३९ बल खेल्दै समान २ चौका र छक्कासहित २८ रन बनाए । नन्दनले २० औं ओभरमा शाहब आलमको बलमा छक्का प्रहार गर्दै बागमतीको स्कोर १ सय रन पुर्‍याए । आकाश चन्दले शुभलाई ३४ रनमा आउट गरे । शुभले ३५ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे । आर्मीका आकाशले ६ ओभरमा ३५ रन खर्चेर ३ र सोमपाल कामीले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully