दाङ र नवलपरासीको विजयी सुरुवात

प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट

पुस २५, २०८१

दुर्गालाल केसी

A winning start for Dang and Nawalparasi

दाङ — प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत भएको पहिलो दिनको खेलमा बिहीबार दाङ र नवलपरासीले विजयी सुरुवात गरेका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा बिहीबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङले पाल्पालाई ८७ रनले र नवलपरासीले बर्दियालाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी–२० छनोट प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दाङले निर्धारित ओभरमा २ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।

दाङकी सरस्वती जीएमले कप्तानी पारी खेल्दै अविजित ६९ रन बनाइन् । अनिता चौधरीले २२ रनको योगदान दिंदै रनआउट भइन् । सुप्रिया बुढा १ रन र आश्ना चौधरीले ६ रन बनाए । पाल्पाकी रमा न्यौपानेले १ विकेट लिइन् ।

१ सय ४१ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको पाल्पा १२ दशमलव ५ ओभरमा अलआउट हुँदै ५३ रनमै समेटियो । पाल्पालाई सस्तैमा समेट्न दाङकी अनिता चौधरीले २ दशमलव ५ बलमा १ मेडनसहित ५ रन दिएर ३ विकेट लिइन् ।

समीक्षा केसीले २ ओभरमा १ मेडनसहित ५ रन दिँदै २ विकेट लिइन् । सुप्रिया बुढाले ३ ओभरमा १ मेडनसहित ४ रन दिएर १ विकेट लिइन् । यसैगरी आश्ना चौधरीले २ ओभरमा १२ रन दिएर १ विकेट लिँदा सृष्टि पोख्रेलले १२ रन दिँदै १ विकेट लिइन् । कसिलो बलिङ गरेको दाङका सामु पाल्पाका खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रतियोगितामा दाङकी कप्तान सरस्वती जीएम प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । 

यसैगरी, दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । नवलपरासीका लागि कप्तान सरस्वती पुनले अविजित ३० रनको योगदान दिँदा सुम्निमा नेपालीले २१ रन, साक्षी भण्डारीले १२ रनको योगदान दिइन् । बलिङतर्फ बर्दियाकी दीपा कुँवर, रितिसा मानन्धर र विमला मगरले १–१ विकेट लिए ।

१ सय २५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बर्दियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो । बर्दियाका लागि कामना विष्टले २४, विमला मगरले १५ र पेमलामी शेर्पाले ७ रनको योगदान दिए ।

बर्दियालाई सस्तैमा रोक्न सुम्निमा नेपालीले ४ ओभरमा २४ रन दिएर महत्त्वपूर्ण २ विकेट लिइन् । यसैगरी, शशी पाण्डेले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिँदा वन्दना विकले २ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् । २१ रनसहित २ विकेट लिन सफल नवलपरासीकी सुम्निमा नेपाली प्लेयर अफ द म्याच भइन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान बाँके र पाल्पाबीच र दिउँसो नवलपरासी र रूपन्देहीबीच खेल कार्यक्रम छ । 

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारीस्वरूप लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully