काठमाडौँ — नेपाली गल्फर सद्भाव आचार्य ३८ औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन शीर्षस्थानमा ओगटेका छन् ।
सद्भावले बुधबार ३ अन्डर ६९ को स्कोरसहित बंगलादेशका मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा ओगटेका हुन् ।
ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सद्भावले पहिलो १८ होलको खेल बोगी फ्री खेले । उनले पहिलोदेखि दसौं होलसम्म पार बचाएका थिए । ११, १३ र १७ औं होलमा एक–एक सट बचााएर ३ अन्डरको उत्कृष्ट स्कोर कार्ड बनाए ।
शाहबुद्दिन इभन–पार ७२ सहित दोस्रो स्थानमा छन् । २ ओभर ७४ को स्कोरमा चार खेलाडीमा नेपालका राहुल बिके, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिफुल इस्लाम र मोहम्मद समिम संयुक्त तेस्रो स्थान छन् ।
राहुलले फ्रन्टनाइन इभन–पार ३६ मा पूरा गर्दा दोस्रो, छैटौं र नवौं होलमा १–१ शट खेर फाले । तेस्रो, पााचौं र सातौं होलमा बर्डी प्रहार गरे । राहुलले १० र १७ औं होलमा १–१ सट खेर फाल्दै ब्याकनाइन २–ओभर ३८ मा सकाए ।
टिम इभेन्टमा नेपालका सद्भाव र राहुलको जोडी १ अन्डर १४३ को स्कोरमा शीर्षस्थानमा रह्यो । नेपालले बंगलादेशको ‘ए’ टिमलाई ५ स्ट्रोकले पछि पारेको छ । बंगलादेशको ’ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४ ओभर १४८ स्कोर बनाएको छ । बंगलादेशको ‘बी’ टिमका सफिकुल इस्लाम र रोमन मिया ६ ओभर १५० को स्कोरसहित तेस्रो स्थानमा रहे ।
चारदिने प्रतियोगितामा एक सय खेलाडीको सहभागिता छ । टिमतर्फ आठ टिम प्रतिस्पर्धी छन् ।
