काठमाडौँ — कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको बुधबार उद्घाटन गरिएको छ । दसौं राष्ट्रियको कार्य प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेप कार्यालय भवनको दोस्रो तलामा सचिवालय स्थापना गरिएको छ । गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० सम्म गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गर्दै आवश्यक पूर्वाधार अभावले दसौं राष्ट्रिय खेलकुदका केही खेल नेपालगन्ज र काठमाडौंमा हुनसक्ने बताए । यद्यपि अधिकांश खेल कर्णालीमै हुनेछ । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटललगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको जानकारी गराए ।
मन्त्री चौधरीले माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदबारे थप छलफल हुने बताए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको बताउँदै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए । उनले प्रदेशको पहिचान खेलाडीको पोसाकसँगै यातायात व्यवस्थापनको जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।
सदस्य–सचिवले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको र कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन/समापन कसरी हुनेलगायतका विषय क्रमबद्ध सार्वजनिक गरिने जानकारी गराए ।
