नेपाल पुलिस क्लब मदन भण्डारी इन्डो नेपाल भलिबलको फाइनलमा 

आजै हुने भनिएको आर्मी र मणिमुकुन्दबीचको खेल शितलहरका कारण स्थगित 

पुस २३, २०८१

घनश्याम गौतम

Nepal Police Club Madan Bhandari in the finals of Indo Nepal Volleyball

बुटवल — नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ । 

बुटवल उपमहानगरपालिका–१० रामनगरमा मंगलबार भएको पहिलो सेमिफाइनलमा गुजरात स्टेट भलिबल भारतलाई ३–१ को सेटमा हराउँदै नेपाल पुलिस फाइनल पुगेको हो । पुलिसले पहिलो सेट २५–२७ ले गुमाएको थियो । तर, दोस्रो सेट पुलिस लयमा फर्केसँगै गुजरातले भने निकै फितलो प्रदर्शन गरेको थियो । गुजरातले लगातार ४ सर्भिस आउट र एक सर्भिस नेट कटाउन नसकेपछि २५–१४ मै हार्नु परेको थियो । 

तेस्रो सेटमा पुलिसले २५–२१ मा जितेको थियो । चौथो सेट भने निकै प्रतिस्पर्धात्मक भएको थियो । सुरुदेखि नै बराबरीको अवस्थामा खेलेका दुवै खेलाडीले २ भन्दा बढीको अग्रता कायम गर्न सकेनन् । अन्ततः गुजरातलाई २५ मा रोक्दै नेपाल पुलिसले २७ मा जितेको थियो । 

यसैबीच मंगलबार नै हुने भनिएको सेमिफाइनलअन्तर्गत त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको दोस्रो खेल शीतलहरका कारण स्थगित भएको छ । उक्त खेल अब बुधबार हुनेछ । 

प्रतियोगिताको फाइनल खेल पनि बुधबारका लागि तोकिएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully