घोराही मेयर कपको उपाधि १३ नं. वडालाई

पुस २३, २०८१

दुर्गालाल केसी

Ghorahi Mayor Cup title 13 no. Ward

दाङ — सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि  वडा नम्बर १३ ले जितेको छ। घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

वडा नम्बर १३ लाई जित दिलाउन रेवन बुढा र प्रमोद बुढाले १-१ गोल गरे ।

हजारौं दर्शकको उपस्थितिमा फाइनल खेल सम्पन्न भएको थियो। कुल ३९ खेल भएको प्रतियोगितामा विभिन्न खेल जित्दै वडा नम्बर १३ ले उपाधि जितेको हो । विजेताले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नम्बर १५ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १३ का सुगम पुन भए । उत्कृष्ट प्रशिक्षक वडा नम्बर १३ का इराक घर्ती, उत्कृष्ट गोल रक्षकवडा नम्बर १३ कै भीम पुन, उत्कृष्ट मिड फिल्ड वडा नम्बर १३ का प्रमेद बुढा, उत्कृष्ट रक्षापंक्तिमा वडा नम्बर १३ कै उज्वल कुमार चौधरी भए ।

यसैगरी, प्रतियोगिताभर खेलेको खेलका आधारमा वडा नम्बर १५ का  सुशील बानियाँ सर्वाधिक गोलकर्ता बने। उनले कुल १४ गोल गरे। वडा नम्बर १५ का जीवन बुढाथोकी उत्कृष्ट फरवार्ड भए । प्रतियोगितामा सहभागी कुल १८ टीम मध्ये अनुशासित टीम वडा नम्बर १ बन्यो ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पालिकाभरका कुल १९ वडामध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागिता थियो । फाइनल खेलमा भएको दुई गोलसँगै कुल ३९ खेलमा कुल १ सय ८८ गोल भएको छ । 

घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैटाैं संस्करण वडा नम्बर १७ ले  मेयर कप फुटबलको उपाधि जितेको थियो । 

यसअघि सेमिफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई तथा वडा नम्बर १५ ले १४ लाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । यो वर्ष उपाधि जितेसँगै वडा नम्बर १३ तीन पटक उपाधि जित्न सफल भएको हो । २०७५ सालदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगितासँगै पालिकाले नगर खेलकुद विकास समिति गठन गरेर वार्षिक कार्यतालिका बनाएर खेल आयोजना गर्दै आएको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully