काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका ब्याटरद्वय दाजुभाइ आरिफ र आसिफ शेख ब्रान्ड एम्बासडर रहेको वीरगन्जको नेसनल स्पोर्ट्स एकेडेमी र शैक्षिक परामर्स संस्था इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीबीच खेल र खेलाडीको विकास गर्ने उद्देश्यसहित समझदारी भएको छ ।
एकेडेमीका क्रिकेट प्रशिक्षक जहुर अन्सारी र इलाइट मुभर्सका प्रमुख उद्धव बनले सम्झौतामा हस्ताक्षर गरेका छन् । मुभर्सले सम्झौताअनुरुप ज्ञानदा एकेडेमीको हाताभित्र रहेको नेसनल स्पोर्टस एकेडेमीलाई शैक्षिक, आर्थिकदेखि खेल सामग्रीमा सहयोग गर्नेछ । सम्झौता कार्यक्रममा आरिफ र आसिफ पनि सहभागी थिए ।
यो सम्झौताले वीरगन्जको मात्र नभई नेपालकै खेलकुद विकासमै सहयोग पुग्ने इलाइट मुभर्सका प्रमुख बनले बताए । आसिफ मुभर्सका पनि ब्रान्ड एम्बासडर हुन् । बनले एकेडेमीलाई खेल सामग्री, प्रशिक्षण उपकरणसहित सहयोग गर्ने प्रतिबद्धता जनाए । क्रिकेट प्रशिक्षक अन्सारीले निजी क्षेत्रको यस्तो खाले सहयोगले एकेडेमीलाई सरल हिसाबमा सञ्चालन गर्न निकै सहयोगी हुने बताए ।
आरिफले आफ्नो पालामा एकेडेमीमा गएर प्रशिक्षण गर्ने वातावरण नभएको तर आउने खेलाडीलाई प्राविधिक हिसाबमा अगाडि बढ्न एकेडेमीको प्रशिक्षणले निकै सहज हुने बताए । आसिफले इलाइट मुभर्सको साथ वीरगन्जको खेलकुद विकासमा महत्त्वपूर्ण हुने जनाए । शेख दाजुभाइ गत साता विवाहबन्धनमा बाँधिएका थिए । दाइ आरिफले वीरगन्जमा भइरहेको जय ट्रफी इलिट कप दुईदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गरिरहेका छन् । आसिफको एपीएफ भने प्रधानमन्त्री कपको शीर्ष चारभित्र पर्न नसकेका कारण जय ट्रफीमा छैन ।
गत वर्षदेखि सञ्चालनमा आएको एकेडेमीमा क्रिकेटतर्फ १ सय ३० खेलाडी छन् । एकेडेमीका चन्दन रामले गत वर्ष एपीएफ क्लबबाट ‘डेब्यु’ गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ५ विकेट लिएका थिए । एकेडेमीमा क्रिकेट, बास्केटबल, फुटबल, टेबलटेनिस, ब्याडमिन्टन खेलको प्रशिक्षण दिँदै आएको छ ।
