काठमाडौँ — नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ मा आयोजना गर्ने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले राइट टु प्रोटिन हाफ म्याराथन हुँदै आएको छ ।
सोमबार पत्रकार सम्मेलनमा महिला/पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीको ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको दिएको छ।
राइट टु प्रोटिन म्याराथनमा करिब ८ हजार संख्यामा सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै रंगशालामा नै आएर टुगिनेछ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा. शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।
पछिल्ला तीन संस्करणमध्ये दुईमा सन्तोषी च्याम्पियन भएकी थिइन् । पत्रकार सम्मेलनमा पनि उपस्थित धाविका सन्तोषीले खेल क्षेत्रसँग सम्बन्ध नभएको संस्थाले आयोजना गरेको म्याराथन उत्कृष्टमध्ये एक रहेको बताइन् । यसपल्ट पनि आफू खेल्ने तयारीमा रहेको बताइन् ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार रहेको छ । करकट्टी गरेर हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
१० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिलामा ५ किलोमिटररतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कार रहेको छ । यस प्रतियोगितामा खेलाडीको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए ।
यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब ५ सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । त्यसका लागि संघको सम्पूर्ण व्यवस्था रहेको एथलेटिक्स संघका आरके विष्टले जानकारी गराए । नेपाल दाना उद्योग संघको तर्फबाट प्रतियोगितामा सहभागीहरूका लागि खाजाको व्यवस्थापन गर्नेछ ।
