मयनको शतकीय कोसेढुंगा

पुस २२, २०८१

अजित तिवारी

Mayan Century Milestones

जनकपुर — ब्याटर मयन यादव जय ट्रफी पुरुष एलिट कप दुईदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । मधेश प्रदेशका उनले सोमबार जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशविरुद्ध १ सय ६ रन बनाएका थिए ।

बलरहरू विशेष गरी स्पिनर हाबी रहेको खेलमा मयनको शतकपछि मधेश विजय नजिक पुगेर रोकिएको थियो । उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरेपछि मधेशले २११–९ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै बागमतीलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो ।

बागमतीले २० ओभरमा ६ विकेट गुमाई ९७ रनमात्र बनाउन सकेपछि खेल बराबरीमा टुंगिएको थियो । दुवै टोलीले यो खेलबाट समान १५ अंक बटुलेका छन् ।पहिलो इनिङ्सको आधारमा ४८ रनले पछाडि पर्दा मधेश दबाबमा परेको अवस्थामा मयनले सानदार ब्याटिङ प्रदर्शन गरेका थिए । उनलाई ३५ औं ओभरमा बागमतीका कप्तान सन्दीप लामिछानेले स्लिपमा रित गौतमबाट क्याच गराए ।

मयनसँग ओपनिङ जोडीको रूपमा आएका कप्तान हरिशंकर साह १२ बलमा ११ रन बनाएर रिजन ढकालको बलमा आउट भए । नीरजकुमार यादवले १७ बलमा ३ चौकासहित १७ रन बनाए । शाहिल पटेल शून्य र हिमांशु दत्त ८ रनमा आउट भए ।

मयनले विशाल पटेलसँग सातौं विकेटमा ५१ रनको साझेदारी गरे ।सन्दीपको बलमा लगातार दुई चौका र एक छक्का प्रहार गर्दै मयन शतकतिर लम्किएका थिए । तर २२ औं ओभरमा सन्दीपले विशाललाई रनमा आउट गरे । मयनले ३४ औं ओभरमा १ सय २ बल खेल्दै आफ्नो शतक पूरा गरेका थिए । त्यसक्रममा उनले १२ चौका र २ छक्का प्रहार गरे । अभिषेक तिवारीले १९, रुपेश सिंह १४, भुलवान सहनी ४ रन बनाई आउट भए । सन्दीपले १७ ओभरमा ८८ रन खर्चिंदै ५ र सूर्य तामाङले ८.२ ओभरमा ३५ रन दिएर २ विकेट लिए 

बागमतीबाट शुभ कंसाकारले २० बलमा २३, प्रतिश जिसीले २४ बलमा १६, रित गौतमले १७ बलमा २५, आशुतोष गहियाले २६ बलमा १७ रन जोडे भने इशान पाण्डे शून्यमा आउट भए । मधेशबाट हरिशंकरले ५ ओभरमा १४ रन दिएर ३, रुपेश, अभिषेक र रन्जितकुमारले १–१ विकेट लिए ।

यसअघि ३४–२ बाट दिनको खेल सुरु गरेको बागमती १ सय ५० रनमा अलआउट भयो । इशान ९, शुभ ३५, रोशन विक शून्य, उत्तम थापामगर १ र र प्रतिश शून्यमै आउट भए । सन्दीप र नन्दन यादवले आठौं विकेटमा ४८ रनको साझेदारी गरे । सन्दीपले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए । नन्दनले रिजन ढकालसँग अन्तिम विकेटमा ४१ रन जोडे ।

रिजनले २३ वलमा अविजित १३ रन बनाए । नन्दनले ५५ बल खेलि ६ चौका र १ छक्का प्रहार गरि ४७ रन बनाए । मधेशका रुपेशले १० ओभरमा ३२ र अभिषेकले ६.५ ओभरमा २५ रन खर्चेर ४–४ तथा विशाल र रञ्जितकुमारले १–१ विकेट लिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully