ललितको ७ विकेट

पुस २२, २०८१

भूषण यादव

Lalit's 7 wickets

वीरगन्ज — ललित राजवंशीले नेपाल प्रिमियर लिगमा गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि नेपाल पुलिस क्लबले बलियो ब्याटिङ रहेको त्रिभुवन आर्मी क्लब धरासायी बनाएको छ । ललितले ७ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको आर्मी ३४.४ ओभरमा १ सय २१ रनमा अलआउट भयो । 

जवाफमा आएको पुलिसले नारायणी क्रिकेट रंगशालामा २३.४ ओभरमा ७ विकेट गुमाएर १ सय २ रन जोडेको छ । आर्मीको स्कोरभन्दा पुलिस अझै १८ रनले पछाडि छ । गुल्सन झा ३३ र प्रेम तामाङ १ रन बनाएर अविजित रहेका छन् । गुलशनको स्कोर दिनको खेलकै व्यक्तिगत उच्च स्कोर रहयो । 

ओपनर कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै सोमपाल कामीको बलमा टप एज लागेर क्याच दिन पुगे । अर्का ओपनर अर्जुन साउदलाई पनि साहब आलमले खाता खोल्न दिएनन् । अमित श्रेष्ठ १८, रसिद खान १६, शंकर राना १३ र दिलीप नाथ १० रन बनाएर पेभिलियन फर्किए । 

आलमले ५ विकेट लिएका छन् । अमित, कप्तान आरिफ शेख (४), दिलीप नाथ र शंकरलाई आउट गरेका साहबले ११ ओभरमा ५५ रन खर्च गरेका छन् । आर्मीका पवन कार्की र सोमपाल कामीले एक/एक विकेट लिए छन् । 

यसअघि आर्मीले कम स्कोरमा रोक्न पुलिसका ललितले आकर्षक बलिङ गरे । ललितले ओपनरद्वय सन्तोष कार्कीलाई १ र सोमपाल कामीलाई ५ तथा त्रितराज दासलाई शून्य, बसिर अहमदलाई १२, विवेक यादवलाई शून्य, साहब आलमलाई ११ र आकाश चन्दलाई शून्यमा आउट गरे ।

कुशल, श्रवण यादव र रसिद खानले १–१ विकेट लिए । आर्मीबाट कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१ र पवन कार्कीले अविजित १५ रन बनाए । 

भूषण

Link copied successfully